श्रम स्वीकृति अब प्रदेशबाटै, राजधानी धाइरहनु नपर्ने

श्रम स्वीकृति अब प्रदेशबाटै, राजधानी धाइरहनु नपर्ने


काठमाडौं – वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहज बनाउन सरकारले आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति जारी गर्न लागेको छ ।

पहिलो चरणमा आइतबार प्रदेश २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

प्रदेशस्थित ती कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन लगायतका काम गरिनेछन्। सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने लगायत काम पनि प्रदेशस्तरमै हुने मन्त्रालयले जनाएको छ।

अन्य प्रदेशका श्रम तथा रोजगार कार्यालयमा पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रवाह गर्ने व्यवस्था अन्तिम चरणमा पु¥याइएको छ। ती कार्यालयबाट पनि चाँडै सेवा प्रवाह गरिने तयारी मन्त्रालयले गरेको छ। वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने व्यवस्था राजधानीबाट मात्र हँुदा विभिन्न जिल्लाका बासिन्दालाई राजधानी धाउन निकै झन्झट भइरहेको थियो।