खाडागाउँका अग्निपीडितका घर प्रदेश सकारले बनाइदिने मुख्यमन्त्री शाहीकाे घाेषणा

खाडागाउँका अग्निपीडितका घर प्रदेश सकारले बनाइदिने मुख्यमन्त्री शाहीकाे घाेषणा


कालीकोट– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको, पलाता गाउँपालिका खाडागाउँका अग्निपीडितको घर प्रदेश सरकारले बनाइदिने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), कालीकोटको पार्टी कार्यालय उद्घाटन गर्न कालीकोट पुग्नु भएका मन्त्री शाहीले जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा यस्तो बताएका हुन्।

मुख्यमन्त्री शाहीले पीडितको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोगका साथै प्रति घरपरिवार रु पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय प्रदेश सरकारले गरेको जानकारी दिए।  पलाताका धेरैजसो घरहरु खरले छाएको हुनाले फेरि पनि यस्ता खालका विपत् आइलाग्ने हुँदा खरले छाएका जति घरहरु छन्, सबै घर परिवारलाई कर्र्कटपाता वितरण गर्ने उनको भनाइ छ।

बैठकमा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले आगलागीबाट मानवीय क्षति नभएपनि वासस्थान नष्ट हुँदा चिसो मौशममा बालबालिका वृद्धवृद्धा र महिला बढी प्रभावित भएको बताए।

क्षतिको अनुमान गर्दा तीन करोड, ६ लाख ३३ हजारसम्म क्षतिको अनुमान गरिएको पनि प्रमुख जिल्ला अधिकारी कार्कीको भनाइ छ। राष्ट्रियसभा सदस्य जीवन बुढाले, विपत् व्यवस्थापनको पूर्वतयारी, उपयुक्त संरचना तथा साधन स्रोतको राहत, वितरणमा एकद्वार प्रणालीमार्फत वितरण गर्नुपर्ने बताए।