सशस्त्र आइजीपी खनालका छोरा पत्रकारविरुद्ध खनिए, अंग्रेजीमा यसरी गरे गाली

सशस्त्र आइजीपी खनालका छोरा पत्रकारविरुद्ध खनिए, अंग्रेजीमा यसरी गरे गाली


काठमाडौं – साइबर क्राइमको मुद्दा लाग्न सक्ने कानुनलाई पनि वेवास्ता गरी सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालका छोरा सानिध्य खनाल पत्रकारविरुद्ध खनिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पत्रकारलाई एकै घानमा राखेर अंग्रेजीमा गाली गरेका छन् ।

अंग्रेजीमा नेपाली कथनसहित लेख्दै भनेका छन् ।,‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ ।’ अर्थात् बाबु खनालले ८ वटा गाडी राखेको भनी आएको समाचारप्रति संकेत गरी उनले अगाडी अंग्रेजीमै लेखेका छन,‘दुखमयी समवेदना छ, यी सबै पागल पत्रकारहरूका लागि ।’

उनी यतिमा सीमित भएका छैनन् । रिसको पारो अझ खोल्दै उनले अंग्रेजीमा भनेका छन,‘तिमीहरू सबै कठोर मुुटु भएका रोगी मुसा हौ ।’ उनले नेपालीमा जोडेका छन्,‘नर्कमा पनि तिमीहरूलाई ठाउँ छैन भन्ने सोच आएको छ ।’

सर्वत्र आलोचना भएपछि अहिले उनले फेसबुक स्ट्याटस हटाएका छन् । तर, उक्त स्ट्याटसको स्क्रिन सर्ट भने भाइरल हुन थालेको छ । आइतबार बिहानै एउटा पत्रिकामा खनालले गाडीको दुरुपयोग गरेको भन्ने समाचार आएको थियो । सोही समाचारलाई विभिन्न अनलाइनले पत्रपत्रिकाको खबर भनेर छापेका थिए ।

समाचारको व्यहोरा यस्तो छ–
सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले राज्यकोषबाट किनेका ८ गाडी प्रयोग गर्दै आएका छन् । उनले बा.२झ ११७४, बा.१झ ६०९१, बा.१झ ८२६६, बा.२झ ३६८, बा.२झ ११७१, बा.२झ २३९१, बा.१झ ६६१३ र बा.१झ ९१४३ नम्बरको गाडी प्रयोग गर्छन् । यी सबै गाडीमा इन्धन, मर्मत, चालक खर्च सरकारले व्यहोर्दै आएको छ ।

समाचारको निचोड राज्यको रकम दुुरुपयोग भन्ने हो । खनालका साथमा राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीपराज रेग्मीले राज्यकोषबाट किनिएका पाँच गाडी प्रयोग गर्दै आएको समाचार छ । बा.१४च ३२०९, बा.५च २२६४, बा.८च ७१९०, बा.१०च ३९२० र बा.७च १८४८ नम्बरका गाडी रेग्मीले भोगचलन गर्दै आएका छन् । यीमध्ये बा.१०च ३९२० नम्बरको उनकी छोरी र बा.७च १८४८ नम्बरको श्रीमतीले चढ्दै आएका छन् ।

गाडीका विषयमा समाचार आएपछि केही समय अघि नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले पत्रकार सम्मेलन गरी स्पष्टीकरण दिँदै ‘कर्मचारीका लागि रहेको’ बताएका थिए ।