नियम मिच्ने सवारीसाधनबाट छ करोड ७१ लाख राजस्व

नियम मिच्ने सवारीसाधनबाट छ करोड ७१ लाख राजस्व


वीरगञ्ज – प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म उठाएको कूल छ करोड ७१ लाख ५१ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ।

उक्त रकममध्ये दुई करोड २२ लाख ६८ हजार रुपैयाँ क्षमताभन्दा बढी सामान लोड गर्ने २७ हजार ८५१ सवारी साधनलाई कारवाही गरी असुल गरिएको जनाइएको छ। उक्त शीर्षकमा राजस्व असुली भएको अन्य प्रदेशभन्दा प्रदेश २ अगाडि रहेको कार्यालयका प्रहरी उपरीक्षक किरण बज्राचार्यले बताए।

प्रदेश २ मा बढ्दो जनसङ्ख्या, सवारी साधनको चाप तथा सडक सञ्जालको अवस्था चुनौतीपूर्ण रहे पनि प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले क्षमताभन्दा बढी सामान बोक्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन, सवारी दुर्घटना न्यूनीकरण गर्न सक्रिय रहेकाले चालू आवको पाँच महिनामा ६५ प्रतिशतले राजस्व वृद्धि गरेको छ।

चालू आवको मंसिर समान्तसम्म ४८८ सवारी दुर्घटना भई १२६ पुरुष, ३१ महिला,२२ बालबालिका गरी १७९ को मुत्यु भएको छ भने २४६ सख्त घाइते भएका छन्। चालू आवको असार मसान्तसम्ममा ट्रक, बस, कार, जिप, भेन, ट्र्याक्टर, मोटरसाइकल, टेमपोबाट जरिवानाबापत छ करोड ७१ लाख ५१ हजार ५०० असुल गरेको बताइएको छ। यसैगरी अघिल्लो आव २०७४-०७५ को असार मसान्तसम्ममा २८८ सवारी दुर्घटना भएकोमा ८३ को मुत्यु भएको थियो भने १७० सख्त घाइते भए भने १५१ सामान्य घाइते भएका थिए।

सो अवधिमा विभिन्न सवारी साधनलाई कारवाही गरी चार करोड ७ लाख ३३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। प्रदेश २ मा जुन प्रकारले सडक सञ्जालको सङ्ख्या बढिरहेको छ त्यसअनुरुप ट्राफिक जनशक्ति नभए पनि दुर्घटना न्युनीकरण गर्न विभिन्न प्रकारको चेतनामूलक कार्यक्रम गर्दै आएको प्रहरी उपरीक्षक बज्राचार्यको भनाइ छ।