पर्सामा ठूलो परिणामको चरेशसहित चालक र ट्रक नियन्त्रण

पर्सामा ठूलो परिणामको चरेशसहित चालक र ट्रक नियन्त्रण


पर्सा – वीरगन्ज महानगरपालिका–३१ बेल्वाबाट पर्सा प्रहरीले ठूलो परिणामको लागूऔषध लोड गरी ल्याएको ट्रक र चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका–१२ पदमपोखरीका २९ वर्षीय सागर बल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए।

चालकले चलाएको ना.४ ख २९८५ नम्बरको ट्रकको पछाडि फल्सबटम बनाई १६० केजी चरेश लुकाएर ल्याउँदै गर्दा बरामद गरेको प्रहरीले बताएको छ। उक्त चरेश मकवानपुरदेखि पर्सा हुँदै भारत लान लगिएको प्रहरीले जनाएको छ।

बरामद भएको चरेश चालु आर्थिक वर्षमा नियन्त्रणमा लिइएको सबैभन्दा ठूलो परिणाम भएको प्रहरी नायब उपरीक्षक मानबहादुर राइले बताए। पक्राउ परेका बल, नियन्त्रणमा लिइएको ट्रक र चरेश जिल्ला प्रहरी कार्यालय पर्सामा नै राखिएको प्रहरीले बताएको छ।