अध्यक्षद्धयसहित नेकपा कार्यदलको बैठक बस्दै

अध्यक्षद्धयसहित नेकपा कार्यदलको बैठक बस्दै


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले एकीकरणका बाँकी काममा गृहकार्य गर्न गठन गरेको कार्यदलको पहिलो बैठक सोमबार बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश तथा स्थानीय तहको एकता, जनवर्गीय संगठनको एकताको मापदण्डलगायतका विषयमा छलफल हुने कार्यदलका सदस्य योगेश भट्टराईले जानकारी दिए ।

मंसिर २९ देखि जारी बैठकको अन्तिम दिन गत शुक्रबार ९ सदस्यीय कार्यदल गठन गरिएको थियो। पार्टी अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने बैठकमा एकताका मापदण्ड, पहिलेका मापदण्डको समीक्षा र कमी कमजोरी देखिएका कुरा सच्याउने, विधानका देखिएको अन्योल हटाउनेलगायत विषयमा छलफल हुने पनि उनले बताए ।

नेकपाको स्थायी समिति बैठकले पार्टी एकताका बाँकी काम कसरि सम्पन्न गर्ने भन्नेबारे खाका तयार पार्न रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले दुवै अध्यक्षलाई बुझाउने प्रतिवेदनका आधारमा पुस महिनाभित्रै एकताका बाँकी काम टुंगो लगाउने नेकपाको तयारी छ ।