नेपाल–मोरक्कोबीच द्विपक्षीय परामर्श संयन्त्र गठन

नेपाल–मोरक्कोबीच द्विपक्षीय परामर्श संयन्त्र गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ– नेपाल र मोरक्को अधिराज्यबीच सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा परराष्ट्र मन्त्रालयमा आज आयोजित एक समारोहमा परराष्ट्रसचिव शंकरदास बैरागी र नेपालका लागि मोरक्कोका राजदूत मोहमेद मल्लिकीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा सचिव बैरागीले उक्त संयन्त्रमार्फत पारस्परिक हित र सहयोगका सबै क्षेत्रमा दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीबीच छलफल गरिने बताउनुभयो । उहाँले राजनीतिक, आर्थिक, व्यापार, वाणिज्य, लगानी, वित्त, औद्योगिक क्षेत्र, शिक्षा, सामाजिक विकास र विज्ञान तथा प्रविधिका क्षेत्रमा पनि सहकार्य गर्न सकिने उल्लेख गर्नुभयो ।

नेपाल र मोरक्कोबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशले संयुक्त राष्ट्रसङ्घ, असंलग्न आन्दोलन र समूह–७७ मा रहेर अन्तर्रा्ष्ट्रिय शान्ति, मानवाधिकार, जलवायु परिवर्तन र सुरक्षाका क्षेत्रमा साझा धारणा राखेर सहकार्य गरिरहेका उहाँले बताउनुभयो ।
 

मोरक्कोले भूकम्पपछि नेपाललाई १० लाख अमेरिकी डलर सहायतास्वरुप उपलब्ध गराएको स्मरण गर्दै उहाँले मोरक्कोलाई अन्तर्रा्ष्ट्रिय कानून आयोग, अन्तर्रा्ष्ट्रिय न्यायालय र राष्ट्रसंघीय मानवाधिकार परिषद्मा नेपालले सहयोग गरेको र मोरक्कोले नेपाललाई अब हुने राष्ट्रसंघीय मानवाधिकार परिषद्को सदस्यमा सघाउने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो ।

 

राजदूत मल्लिकीले नेपाली विद्यार्थीका लागि विज्ञान र प्रविधिका क्षेत्रमा छात्रवृत्ति बढाउने आश्वासन दिँदै द्विपक्षीय सहयोगलाई अझ फलदायी तुल्याउन आफू प्रतिबद्ध रहने बताउनुभयो ।