कांग्रेसमा गगन थापा युग : पार्टी बलियो बनाउन युवा नेतृत्व हाबी होला ?

कांग्रेसमा गगन थापा युग : पार्टी बलियो बनाउन युवा नेतृत्व हाबी होला ?


काठमाडौं – हालसालै काठमाडौंमा सम्पन्न भएको नेपाली कांग्रेसको महासमिति बैठकले पार्टीमा केही उर्जा थपेको देखिएको छ ।सभापति शेरबहादुर देउवा बोल्न थालेका छन् । पार्टीका विभिन्न गुट–उपगुट एकठाउँमा आएका देखिएका छन् । गर गुट–उपगुटको भित्रि अभ्यास भने जारी नै रहेको छ । सैद्धान्तिक विषय र एजेण्डामा सबै समूह एक ठाउँमा आएका छन् ।

महासमिति बैठककै निर्णयमा अगाडि बढ्यो भने कांग्रेस अगाडि बढ्न सक्ला ? प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट कांग्रेसले नराम्ररी हार व्यहोरेपछि कांग्रेसको भविष्य अन्योलमा छ । कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका समेत निर्वाह गर्न नसकेको आरोप लाग्ने गरेको छ ।

अहिलेकाहीँ कांग्रेसका युवा नेता गगन थापाले संसद र सार्वजनिक समारोहमा दिने भाषणले प्रतिपक्षको अस्तित्व जोगाएको छ । नत्र भने कांग्रेस भेट्टाउनै गाह्रो पर्ने अवस्था छ । कांग्रेसभित्र गगन थापा स्पष्ट वक्ता र प्रभावशाली नेता हुन् । उनी वैचारिक रुपमा पनि स्पष्ट हुन्छन् । कांग्रेसमा स्व. गिरिजाप्रसाद कोइराला सभापति हुँदादेखि शेरबहादुर देउवा सभापति हुँदासम्म नेता थापाको स्वभाव र सक्रियतामा कुनै फेरबदल आएको छैन ।

गणतन्त्रका सिपाही

विद्यार्थी राजनीति सक्रिय रहेकै बेला राजतन्त्र ढालेर मुलुकमा गणतन्त्र ल्याउनुपर्छ भनेर कांग्रेसभित्र बोल्ने युवा नेतामध्ये गर्छन् गगन थापा । गगन थापाले राजनीतिक परिवर्तनका लागि भएका शान्तिपूर्ण आन्दोलनमा नेतृत्व लिएर आन्दोलनको परिचालन गरेका छन् ।

गणतान्त्रिक नेपालको विकासका लागि स्पष्ट खाका र मार्गचित्र समेत रहेको देखिने गगन थापालाई पार्टीभित्र भने खास जिम्मेवारी दिने गरिएको छैन । सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ता बनाउने हल्ला चलेपनि अन्तिममा अर्का युवा नेता विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिइयो । पार्टीभित्र गलतको विरोध गर्ने र जनताको पक्षमा बोल्ने प्रवृत्तिका कारण गगन थापा नेतृत्वको छनौटमा परेनन् ।

नेतृत्व र जिम्मेवारी नपाएपछि गगन थापाले हरेक घटना र सवालमा आफ्नो भूमिका आफैं निर्माण गर्ने गरेका छन् । चर्चित विषयमा आफ्नो स्पष्ट अभिव्यक्ति दिएर पार्टी कार्यकर्ता र जनताको मनमा बस्ने गरेका छन् । जसले गर्दा गगन थापाको लोकप्रियता खस्किने गरेको छैन । उनले वाम गठबन्धनको चुनौतीलाई चिर्दै पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा समेत जित हात पारेका छन् ।

कांग्रेसले युवा नेतृत्व पाउँला ?

महासमिति बैठकपछि अब कांग्रेसभित्र महाधिवेशनको तयारी समेत शुरू भएको छ । अघिल्लो महाधिवेशनमा महामन्त्री पदमा पराजित भएकाले गगन थापाले यसपालि समेत महामन्त्री वा सभापति पदमा उम्मेदवारी दिने चर्चा चलेको छ । थापाले सभापति पदमै उम्मेदवारी दिन सक्ने संकेत गरेका छन् ।

पुरानो नेतृत्वले कांग्रेस कमजोर भएको र युवा नेतृत्वको हातमा पार्टी जानुपर्ने बलियो मत कांग्रेसभित्र छ । तर अन्तिममा चुनावका बेला गुट–उपगुट नै हाबी हुने भएका कारण युवा सोच पराजित हुने गरेको छ । निर्वाचनमा नराम्ररी पराजित भएको कांग्रेसलाई अगाडि बढाउन कांग्रेस प्रतिनिधिहरू गुट–उपगुटबाट माथि उक्लिन सक्लान् ? यो प्रश्नको जवाफका लागि महाधिवेशन नै पर्खिनुपर्छ ।

जनसमर्थन बटुल्न पछिल्लो समय कांग्रेसभित्र हिन्दूराष्ट्र फर्काउने अभियान समेत चलिरहेको छ । तर धर्मनिरपेक्षताका पक्षधर गगन थापाले संस्कृतिको रक्षा गर्नुपर्ने स्पष्ट विचार दिएका छन् । विवादित क्रिश्चियन संस्था यूपीएफको कार्यक्रममा सरकार नै सक्रिय भएर लाग्नु धर्मनिरपेक्षताको अर्थ नभएको गगन थापाले बताउने गरेका छन् ।

धार्मिक मुद्दा उचालेर तथा सरकारको विरोध मात्रै गरेर कांग्रेसलाई उभो लगाउन सकिने परम्परागत सोचलाई युवा नेता गगन थापा लगायतले चिर्दै नयाँ योजना ल्याउने आशा कांग्रेसभित्र जिवितै छ । जनताको जीवनस्तर उकास्ने र विकास निर्माणमा फड्को मार्ने योजना युवा नेतृत्वले ल्याउन सके कांग्रेसको जनमत बृद्धि हुन सक्छ ।