प्रस्तावित राजदूतहरूविरुद्ध उजुरी आह्वान

प्रस्तावित राजदूतहरूविरुद्ध उजुरी आह्वान


काठमाडौं – बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूविरुद्ध उजुरी आह्वान गरेको छ ।

उजुरीका लागि १० दिनको समय तोकिएको छ। सरकारले गणेशप्रसाद ढकाललाई थाइल्यान्डका लागि आवासीय र क्याम्बोडिया, लाओस, भियतनाम र सिंगापुरका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ। राष्ट्र संघको जेनेभास्थित नेपालको स्थायी नियोगमा मणिप्रसाद भट्टराईलाई राजदूतको रुपमा सिफारिस गरिएको छ।

भृगु ढुंगानालाई क्यानाडाका लागि आवासीय र क्युबा तथा जमैकाका लागि गैरआवासीय नेपाली राजदूत, दीपक अधिकारीलाई फ्रान्सका लागि आवासीय र एन्डोरा, मोनाको र पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिस गरिएको छ। दुर्गाप्रसाद भण्डारी कुवेतका लागि नेपाली राजदूतमा सिफारिस भएका छन्। समितिले संसदीय सुनुवाइका लागि प्रस्तावित व्यक्तिहरूविरुद्ध उजुरी आह्वान गरेको हो।