नेपालमा उत्तर–दक्षिण रेल : भारतबाटै छिट्टै आउने, चिनियाँ रेल ल्याउन ‘जग निर्माण’

नेपालमा उत्तर–दक्षिण रेल : भारतबाटै छिट्टै आउने, चिनियाँ रेल ल्याउन ‘जग निर्माण’


काठमाडौं – रेल सेवा ,  राजनीतिमा प्रयोग हुने मध्येको एक महत्त्वपूर्ण सन्दर्भ । जसलाई सत्तापक्ष र विपक्षी दुवैले रणनीतिक रुपमा प्रयोग गर्छन् ।
रेल सेवालाई नै प्रयोग गरेर सत्तापक्षले जनमत बटुल्यो र सत्ताको बागडोर सम्हालेको छ । प्रतिपक्षीले ‘खै रेल’ भन्दै सरकारको आलोचना गर्ने गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भन्ने गरेको रेललाई कतिपयलाई ‘हावा गफ’ भनेर पनि आलोचना गर्छन् । तर अब रेल सपना हावा गफ मात्रै रहेन । भन्ने बित्तिकै तुरुन्तै देशभर रेल सेवा विस्तार पनि हुँदैन । रेल सञ्जाल विस्तार गर्ने विषय हलुका र हचुवा पनि होइन । त्यसैले प्रक्रिया अनुसार रेल सञ्जाल निर्माण कार्य अगाडि बढिरहेको छ ।

भारतबाट छिट्टै नेपालमा रेल आउँदैछ । रेल चल्ने लीग तयार भइसकेपछि रेल खरिद र जनशक्तिको व्यवस्थापन गर्ने काम चलिरहेको छ । चीनबाट आउने रेलको अध्ययन भइरहेको छ । चिनियाँ र नेपाली पक्षले प्रारम्भिक सम्भाव्यता अध्ययनको काम गरिरहेका छन् ।

रेलको खरिद
भारतको जयनगरदेखि नेपालको धनुषास्थित कुर्थासम्म रेल सञ्चालनका लागि सरकारले रेल खरिद प्रक्रिया शुरू गरेको छ । सरकारले इन्जिन र डिब्बा सहितका दुई वटा रेल सेट खरिद गर्ने तयारी गरेको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले एउटा सेटमा पाँच वटा डिब्बा र दुई वटा इन्जिन हुने बताए । ‘भारत सरकारमार्फत् रेलका सेट खरिद गरिने र मूल्यबारे छलफल भइरहेको छ,’ उनले भने । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माण भइरहेको छ ।

रेल विभागका अनुसार भारतको जयनगरदेखि नेपालको धनुषा जिल्लाको कुर्थासम्मको ३५ किलोमिटर रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अब रेलको लीग परीक्षणको तयारी भइरहेको छ ।

‘रेलको दुई वटा सेट किन्ने हो, एउटा सेटको अनुमानित ५० करोड रुपैयाँ पर्छ,’ उनले भने, ‘जयनगरदेखि जनकपुरसम्म एकदेखि डेढ घण्टाको यात्रा भएकाले राति सुत्न मिल्ने, एसी हुने लगायत धेरै सुविधासम्पन्न रेलमा राख्दैनौं ।’

धेरै सुविधा नचाहिने भएका रेलको खरिद लागत घट्ने सम्भावना पनि रहेको उनले बताए । रेल खरिद सम्झौता भएको तीन महिनाभित्र रेल उपलब्ध गराउने गरी भारतीय पक्षसँग रेल विभागले छलफल गरिरहेको छ ।

यसअघि कोइलाबाट चल्ने ‘न्यारोगेज’ रेल चलाएका नेपाली चालकसँग अब चल्ने ‘ब्रोडगेज’ रेलबारे दक्षता नभएकाले चालक पनि भारतबाटै ल्याउने तयारी छ । नेपाली चालकलाई प्रशिक्षण दिएपछि स्वदेशी चालकले नै रेल चलाउने छन् ।

शुरूमा रेल पनि भारतबाटै भाडामा ल्याउने विषयमा समेत रेल विभागले छलफल गरेको थियो । तर भाडामा लिँदा पनि लागत धेरै पर्र्ने भएकाले रेल विभागले आफ्नै रेल खरिद गरेर स्वदेशी स्वामित्वमै सञ्चालन गर्ने निष्कर्ष निकालेको थियो ।

चिनियाँ रेल ल्याउन ‘जग निर्माण’
दक्षिणी भूभागबाट भारतीय रेल नेपाल प्रवेश गर्ने अन्तिम तयारी भइरहँदा उत्तरी भूभागबाट चिनियाँ रेल नेपाल प्रवेश गराउने विषयमा पनि अध्ययन भइरहेको छ । भौगोलिक बनावट पहाडी र जटिल भएकाले भारतबाट रेल आएजस्तो सहज भने छैन ।

रेलमार्ग निर्माणका लागि रसुवागढीदेखि काठमाडौंसम्म भूगोल अप्ठ्यारो भएकाले पनि चिनियाँ रेल ल्याउन धेरै समय लाग्न सक्ने अनुमान गरिएको छ । धेरै समय लाग्ने भएपनि सरकारी स्तरबाट सम्पूर्ण प्रयास र अभ्यास जारी रहेको रेल विभागले जनाएको छ ।

चिनियाँ र नेपाली पक्षले मिलेर संयुक्त रुपमा पटक–पटक अध्ययन गरेको र त्यसबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जानकारी समेत गराउने गरिएको छ । चिनियाँ रेल नेपाल भित्र्याउन जग निर्माणको काम भइरहेकाले प्रधानमन्त्री ओलीको रेल सपनालाई ‘हावा गफ’ मात्रै ठानिनु पूर्वाग्रही हुनेछ ।