भारतको सबरीमाला मन्दिरमा ५० वर्षमुनिका दुई महिला प्रवेश गर्न सफल

भारतको सबरीमाला मन्दिरमा ५० वर्षमुनिका दुई महिला प्रवेश गर्न सफल


केरला – भारतको केरला राज्यको सबरीमाला मन्दिरमा बुधबार बिहान ५० वर्ष भन्दा कम उमेरका बिन्दु र कनकदुर्गा नाम गरेका दुई महिलाले बुधबार बिहान करिब ४ बजे मन्दिर प्रवेश गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

महिलाले प्रवेश गरी भगवान अयप्पाको पूजा गरेका छन् । यी महिलाले यसअघि पनि मन्दिर प्रवेश गर्ने प्रयास गरेका थिए । उनीहरु बुधबार बिहान सफल भएका हुन् । सादा कपडामा रहेका दुई महिला प्रहरी तथा अरु सहयोगीको सुरक्षामा स्वामी अयप्पाको मन्दिरमा प्रवेश गर्न सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको सर्वोच्च अदालतले सबरीमाला मन्दिरमा महिलाहरुको प्रवेशमा रोक लगाउनु मानव अधिकारको उल्लंघन भएको भन्दै केही महिनाअघि फैसला गरेको थियो। त्यसछि हालसम्म करिब १५ महिलाहरुले मन्दिर प्रवेशको प्रयास गरेका थिए। तर, हिन्दुवादी समूहले उनीहरुलाई प्रवेश गर्न रोक्दै आएको थियो।

प्रहरीको घेरामा कालो पहिरनमा दुई महिलाहरु मन्दिर प्रवेश गरेको भिडियो संचार माध्यमहरुले प्रशारण गरेका छन्। उनीहरु पवित्र १८ पथको बाटोबाट नभइ कर्मचारी प्रवेश गर्ने ढोकाबाट मन्दिर प्रवेश गरेको बताइएको छ। महिलाहरु मन्दिर प्रवेश गरेको पुष्टि गर्दै केरलाका मुख्य मन्त्री पिनराय विजयनले मन्दिरमा प्रवेश गर्न चाहने सबैलाई सुरक्षा प्रदान गर्नु आफूहरुको दायित्तव रहेको बताए । यता अयप्पा धर्म संघले यस कदम विरुद्ध लड्ने बताएको छ ।

स्वामी अयप्पाको मन्दिर सबरीमलामा १० देखि ५० वर्ष उमेरका किशोरी तथा महिलामाथि प्रवेशमा प्रतिबन्ध रहँदै आएको थियो । तर गएको सेप्टेम्बर २८ मा भारतको सर्वोच्च अदालले यो व्यवस्था खारेज गर्दै सबै उमेर समूहका महिलालाई मन्दिर प्रवेश गर्न दिन आदेश दिएको थियो ।स्वामी अयप्पा ब्रह्मचारी रहेकाले महिनावारीको उमेर पुगेका वा महिनावारी हुने उमेरका महिलामाथि प्रवेशमा रोक लाग्दै आएको थियो । बुधबार मन्दिर प्रवेश गरेका दुई महिलाहरु त्यो समूहका महिला हुन्, जसले मन्दिर प्रवेशका लागि १० महिलाको समूह बनाएका थिए ।