‘ए’ डिभिजन लिगको अन्तिम खेल तालिका सार्वजनिक,शनिबार दुई खेल हुने

‘ए’ डिभिजन लिगको अन्तिम खेल तालिका सार्वजनिक,शनिबार दुई खेल हुने


काठमाडौँ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ ।  एन्फाद्वारा शुक्रबार सार्वजनिक गरिएको खेल तालिका अनुसार अन्तिम चरणका खेल यही पुस २१, २२ २३ र २४ गते सञ्चालन हुनेछन् । अन्तिम चरणको खेलअन्तर्गत २१ गते शनिबार दुई खेल हुनेछ ।

पहिलो खेल जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच हुनेछ । सोही दिन सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । दुवै खेल हल्चोकस्थित एपिएफ मैदानमा हुनेछ । पुस २२ गते आइतबार एनआरटी र ब्रिगेड ब्वाइजबीच एन्फा मैदान तथा फ्रेन्ड्स क्लब र मनाङ-मस्र्याङ्दी क्लबबीच हल्चोकमा खेल हुनेछ । पुस २३ गते सोमबार मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब र सङ्कटा र एपिएफबीच खेल हुनेछ । दुवै खेल एन्फा मैदानमा खेल हुनेछ ।

पुस २३ गते लिगको अन्तिम दिन हिमालयन शेर्पा र थ्रीस्टारबीच खेल हुनेछ । उक्त खेलसँगै लिगका सबै खेल सकिनेछ । सोही दिन लिगको समापन समारोह हुनेछ । लिगको १२औँ चरणका खेल सकिँदासम्म मनाङ–मर्स्याङ्दी विजेता र सङ्कटा उपविजेता भइसकेका छन् । लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्रीस्टार, मनाङ–मस्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।

लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले  २५ लाख पाउने छन् । लिगको चौथो टोलीले १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले पाँच लाख पाउने छन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिनेछ ।

बुम महिला बास्केटबल शनिबारदेखि

तेस्रो बुम महिला बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । नेशनल क्रिएटिभ को-एजुकेशनल (एनसिसिएस) र विशाल मिलन केन्द्र (बिएमके) को संयुक्त आयोजनामा हुने प्रतियोगितामा छ टोलीको सहभागिता रहने कार्यक्रम संयोजक राजु आचार्यले जानकारी दिए ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन साइपाल क्लब, एनसिसिएस, बिएमके, काठमाडौँ नर्थ प्वाइन्ट क्लब, समृद्धि गोरिल्लाज र जेभियरले प्रतिष्पर्धा गर्नेछन् । राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुने खेलको शीर्ष चार स्थान हात पार्ने टोलीमध्ये पहिलो र दोस्रो हुनेले फाइनल प्रवेशका लागि खेल्ने छन् ।

यसमा पराजित हुनेले पुनःफाइनल पुग्न तेस्रो र चौथो स्थानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता सञ्चालन गर्न करीब दुई लाख ५० हजार खर्च हुने अनुमान आयोजकको छ । आठदिने प्रतियोगिताका खेल चण्डोलस्थित बिएमकेको कोर्टमा हुनेछ ।