केयुकेएलका कर्मचारीले खानेपानीमन्त्रीसँग भने- १८ घण्टासम्म खटेर भएपनि मेलम्चीकाको पानी ल्याउँछाैं

केयुकेएलका कर्मचारीले खानेपानीमन्त्रीसँग भने- १८ घण्टासम्म खटेर भएपनि मेलम्चीकाको पानी ल्याउँछाैं


काठमाडौं– मेलम्चीको पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न आफूहरु सक्षम र तयार रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का कर्मचारीहरुले बताएका छन्।

केयुकेएल अन्तर्गतका कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी संगठनको शुक्रबार भएको एकता भेलामा कर्मचारीहरुले १८ घण्टासम्म खटेर भएपनि मेलम्चीको पानी काठमाडौं उपत्यकामा सहज ढंगले वितरण गर्न सक्षम रहेको बताएका हुन् ।

खानेपानी मन्त्री बीना मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलामा कर्मचारी युनियन एकीकरण कार्यदलका उपसंयोजक सुरेश कर्माचार्यले मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्न आफूहरु १८ घण्टासम्म खट्न तयार रहेको बताए।

कर्माचार्यले मेलम्चीको पानी उपत्यकाबासीलाई खुवाउन केयुकेएलका कर्मचारीहरु दिनरात खटिन तयार रहेको प्रतिबद्धता जनाउनुभयो । भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मेलम्ची आएपछि हामी पानीको आपूर्ति व्यवस्थापन गर्न सक्षम छौं । दिनरात नभनी काम गर्छौं । हामी आफैं सक्षम छौं ।”

भेलामा अधिकांश कर्मचारीहरुले छिटो भन्दा छिटो मेलम्चीको पानी ल्याउन सरकारले कुनै कसर बाँकी राख्न नहुने बताएका थिए ।

भेलालाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले केही तत्वहरुले भ्रम फैलाउन खोजे पनि मेलम्चीको पानी काठमाडौंमा ल्याएरै छाड्ने प्रतिबद्धता जनाइन्।   केही त्यस्ता तत्वहरुले मेलम्ची नआओस् भन्ने चाहेको बताउँदै उहाँले भन्नुभयो, “ मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारलाई बिफल बनाउन स्वार्थ बोकेर केही व्यक्ति लागेका छन् । सरकारप्रति जनताको अविश्वास पैदा गराउन केही व्यक्तिले भ्रम सिर्जना गरिरहेका छन् । तर सरकार कहीँ कतै विचलित हुने छैन । काममा दृढ संकल्पका साथ मन्त्रालय अघि बढेको छ ।”

मन्त्री मगरले मेलम्चीको पानी काठमाडौं उपत्यकामा सहज ढंगले वितरण गर्न कर्मचारीहरुमा सामूहिक प्रतिबद्धता आवश्यक रहेको औंल्याइन्।   उनले मेलम्ची आयोजना मात्रै नभई देशैभरि रहेका मुख्य मुख्य शहरहरुमा खानेपानीको आपूर्ति गर्न केही ठूला आयोजनाहरु सुरु गर्न लागिएको जानकारी दिइन्। खानेपानी तथा सरसफाईको क्षेत्रमा पहिलो पटक मन्त्रालयले साझा ऐन कानुन बनाउन लागिएको उनले स्पष्ट पारिन।  अहिलेको अवस्था र भोलिको आवश्यकतालाई ध्यानमा राखेर खानेपानीको क्षेत्रमा विधेयक बनाउन लागिएको उनको भनाई छ।