प्रधानसेनापतिको आसन्न भारत भ्रमण : सम्बन्ध सुधारदेखि सहायता बृद्धिसम्मका ऐजेण्डा 

प्रधानसेनापतिको आसन्न भारत भ्रमण : सम्बन्ध सुधारदेखि सहायता बृद्धिसम्मका ऐजेण्डा 


काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आगामी पुस २७ गतेदेखि माघ २ गतेसम्म भारत भ्रमण गर्दैछन् । थापाले सेनाको नेतृत्व सम्हालेपछि पहिलो भारत भ्रमण हुन लागेको हो ।

भारत भ्रमणमा सम्बन्ध सुधारदेखि सहायता बृद्धिसम्मको प्रयास रहने सैनिक स्रोतले जनाएको छ । बिमस्टेकका सदस्य राष्ट्रको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नभएपछि भारत केही असन्तुष्ट देखिएको छ ।

प्रधानसेनापति थापा आफैं सहभागी हुने भनिएको संयुक्त सैनिक अभ्यासमा सरकारले नजान निर्देशन दिएपछि रोकिएको थियो । भारतकै प्रयासमा अभ्यास भइरहँदा नेपालले पूर्वप्रतिवद्धता उल्लंघन गर्दै सहभागिता नजाएको भन्दै भारतीय पक्ष असन्तुष्ट रहेको छ ।

भारतीय सेनाको मानार्थ महारथीको उपाधि मिल्ने

भारतीय स्थलसेनाका सेनाध्यक्ष विपिन रावतको निम्तोमा प्रधानसेनापति थापा भारत जान लागेका हुन् । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले पुस २८ गते थापालाई भारतीय सेनाको महारथीको मानार्थ उपाधि प्रदान गर्ने कार्यक्रम तय भएको छ ।  

प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री निर्मला सीतारमण र प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका दुई पृतनाको समेत अवलोकन गर्नेछन् ।

सम्बन्ध सुधारको अपेक्षा

राजनीतिक स्तरमा भएको त्रुटिका कारण नेपाली सेना संयुक्त सैन्य अभ्यासमा सहभागी नहुँदा बिग्रिएको सैनिक सम्बन्धलाई थापाको भ्रमणले सुधार्ने अपेक्षा गरिएको छ । सैन्य अभ्यासमा सहभागी नहुँदा सैनिक तहभन्दा पनि राजनीतिक नेतृत्वमा असन्तुष्टि रहेपनि त्यसको केही असर सेनामा पनि स्वभाविक रुपमा परेको छ ।

थापाको भ्रमणका क्रममा सैनिक स्तरको असन्तुष्टिलाई चिरेर सम्बन्ध सुधार गर्ने प्रयास गर्ने एक सैनिक अधिकारीले बताए । ‘बिमस्टेक देशको सैनिक अभ्यासमा सहभागी हुने कुरा कुनै नौलो थिएन, त्यस्ता अभ्यास समय–समयमा भइरहन्छन्,’ उनले भने, ‘तर सरकार र राजनीतिक नेतृत्वमा देखिएको अन्योलताको शिकार सेना भएको हो ।’

भारतीय सेना र नेपाली सेनाबीच वर्षाैदेखि विशेष सम्बन्ध रहेको छ । त्यही सम्बन्धलाई निरन्तरता दिन र बिग्रिएको अवस्थालाई सुधार्न भारतीय पक्षले पनि प्रयास गरिरहेको सन्दर्भमा सेनापति थापाको भ्रमण सम्बन्ध सुधारमा सफल हुनेछ । थापाले भारतबाटै नेसनल डिफेन्स कोर्स (एनडीसी) गरेकाले उनको विशेष सम्बन्ध समेत रहेको छ ।

आन्तरिक सुधारपछि भ्रमण 

प्रधानसेनापति हुने बित्तिकैदेखि थापालाई विभिन्न देशबाट भ्रमणको निम्तो आइरहेको थियो । तर थापाले सबै भ्रमणलाई अस्वीकार गर्ने गरेका थिए । उनले भन्ने गरेका थिए, ‘पहिला घर ठीक पार्दैछु, अनि उपयुक्त समयमा तपाईको देश भ्रमण गर्छु ।’

प्रधानसेनापति भएपछि थापाले आन्तरिक सुधारका केही प्रयास गरेका छन् । कुटनीतिक मर्यादा कायम राख्ने, जथाभावी खर्च घटाउने, खरिद प्रक्रियालाई व्यवस्थित बनाउने, सैनिक संगठनभित्रका विकृति हटाउने, नक्कली शैक्षिक प्रमाणपत्रको छानबिन, बढुवा प्रक्रियालाई वैज्ञानिक बनाउने काम थापाले गरेका छन् ।

आन्तरिक सुधारको नीति व्यवस्थित गरेपछि थापा भारत भ्रमणमा जान लागेका हुन् । उनले यसबीच अन्तर्राष्ट्रिय समुदायसँग सन्तुलित सम्बन्ध राख्न खोजेका छन् । विदेशी राजदूत र सैनिक सहचारीलाई सिधै प्रधानसेनापतिलाई भेट्ने चलनलाई रोक्दै ‘कुटनीतिक मर्यादा’ कायम राख्न खोजेका छन् ।

विगतमा कर्नेल तहका विदेशी सैनिक सहचारीले सोझै प्रधानसेनापतिलाई भेट्ने गरेका थिए । तर, हाल सैनिक गुप्तचर महानिर्देशनालयका प्रमुखसँग सैनिक सहचारीले कुरा राख्ने र आवश्यक परे मात्रै प्रधानसेनापतिलाई भेट्ने व्यवस्था मिलाइएको छ ।

सहयोग बृद्धिको अपेक्षा

रक्षामन्त्री ईश्वर पोखरेलको चीन भ्रमणमा नेसनल डिफेन्स युनिभर्सिटी (एनडीयू) बनाइदिन प्रस्ताव गरिएको छ । स्रोतकाअनुसार जसबाट भारत र अमेरिका तर्सिएका छन् । पोखरेलको भ्रमणका क्रममा चीनले ठूलो सैन्य सहयोग समेत घोषणा गरेको छ ।

एनडीयूका लागि चीनले भवन र भौतिक संरचना मात्रै बनाउने हो कि सफ्टवेयरसहित हो भन्ने मुख्य चासो भारत र अमेरिकाले राखेको देखिएको छ । चीनले पछिल्लो समय नेपाली सेनालाई गर्दै आएको सहयोगमा बृद्धी गरेपछि भारत र अमेरिका झस्किएको बताइन्छ ।  

नेपाली सेनाले पाउने एनडीसीको कोटामा भारतले १, चीनले ४ र अमेरिकाले २ वटा दिने गरेको छ । तर थापाको यस भ्रमणमा एनडिसी कोटा बृद्धिका लागि समेत प्रयास हुने अपेक्षा गरिएको छ । प्रधानसेनापतिको प्रस्तुती र सन्तुलित कुटनीतिका आधारमा भारतबाट सैनिक सहयोग अभिबृद्धिका लागि सफलता हात लाग्ने देखिएको छ ।