सुर्खेतमा छ किलो चरेशसहित दुई पक्राउ

सुर्खेतमा छ किलो चरेशसहित दुई पक्राउ


सुर्खेत – इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले आइतबार बेलुकी छ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका–२ मदानेचौर सुर्खेतका ४२ वर्षीय हरिबहादुर खड्का र ५५ वर्षीय वीरबहादुर बूढा रहेका छन् ।

छ किलो ३०० ग्राम चरेशसहित खड्का र बूढालाई इलाका प्रहरी छिन्चुले पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक क्षेत्रीका अनुसार विशेष सूचना पाएपछि इप्रका छिन्चुबाट खटिगएको टोलीले मदानीचौरस्थित जाजरकोट-छिन्चु सडकखण्डको माथिल्लो साइडमा घाँटी वनदेखि छिन्चुतर्फ आउने जाने सडकखण्ड नजिक वीरबहादुर बूढाको घरमा चरेश बरामद गरेको थियो ।

त्यसैगरी, ‘सामुदायिक प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत आइतबार नै सुर्खेत प्रहरीले ४३५ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । विभिन्न पसलबाट अवैध तयारी घरेलु मदिरा तथा कच्चा पदार्थ, भाँडावर्तन र मदिरा निर्माणमा प्रयोग हुने पाँच किलो औषधि बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।