उदयपुर सिमेन्ट उकास्ने सुरेन्द्रले आयल निगम सुधार्ने श्रेय पाउँलान् ?

उदयपुर सिमेन्ट उकास्ने सुरेन्द्रले आयल निगम सुधार्ने श्रेय पाउँलान् ?


काठमाडौं – नेपाल आयल निगम भ्रष्टाचार र कमिशनले थलिएको छ । जसको मारमा पर्छन् उपभोक्ता । पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेर सर्वसाधारणबाट पैसा असुल्ने र नेतृत्वले भ्रष्टाचार र कमिशन खाएर मोटाउने प्रवृत्ति आयल निगममा चल्दै आएको छ ।

निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा निगमका नेतृत्वकर्ता कति मोटाउँछन् भन्ने प्रष्ट पारिएको छ । खड्काले आयल निगममा आएपछि करोडौंको सम्पत्ति जोडेको, भ्रष्टाचार लुकाउन आफन्त र नजिकका मान्छेका खातामा पैसा जम्मा गराएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

निगमको नेतृत्वले गरिरहेको भ्रष्टाचारको सजाय जनता र उपभोक्ताले चर्काे मूल्य तिरेर भोग्नु परिरहेको छ । निगममा व्यवस्थापकीय सुधार गर्न सकेमा इन्धनको मूल्य घटाउन सकिने र उपभोक्तालाई सहुलियत दिन सकिने विकल्प अझै खुला छ । जनतालाई राहत दिने विकल्पलाई कार्यान्वयन गर्न नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कुशल व्यवस्थापक र नेतृत्वलाई नेपाल आयल निगममा ल्याएको छ ।

उदयपुर सिमेन्ट कारखानाको कुशल नेतृत्व गर्दै कारखानाबाट नाफा गराउन सफल सुरेन्द्रकुमार पौडेल नेपाल आयल निगमको कार्यकारी निर्देशक बनेका छन् । उदयपुर सिमेन्ट कारखानामा हुँदा पौडेलले थुप्रै सुधारका काम गरेपछि उनलाई सरकारले झन् ठूलो जिम्मेवारी दिएको छ ।

सरकारी उद्योगमा पनि नाफा !

सरकारी स्वामित्वका उद्योगहरू लगातार थला परेको र धरासायी भएको बेला उदयपुर सिमेन्ट कारखानालाई तत्कालीन महाप्रबन्धक पौडेलले उकासेका हुन् । चरम राजनीतिकरणका कारण सरकारी उद्योगहरू डुबिरहेका बेला पौडेलको नेतृत्वमा उद्योगले नाफा कमाएको छ ।

उदयपुरको जलजलेमा अवस्थित सिमेन्ट उद्योग २०४४ सालमा शुरू भएको नेपालको सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको छ । दैनिक ८ सय मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको उद्योगले ७ सय ७० मेट्रिक टन सिमेन्ट उत्पादन गरेर पौडेलकै पालामा स्थापनाकालदेखि सबैभन्दा बढी सिमेन्ट उत्पादनको रेकर्ड कायम गरेको थियो ।

झण्डै २ वर्षअघिसम्म वार्षिक १० करोडभन्दा बढी घाटामा रहेको उद्योगको भौतिक र प्राविधिक व्यवस्थापन गरेपछि गत वर्ष १५ करोड रुपैयाँ नाफा गरेको थियो । चालू वर्ष उद्योगले ३५ करोडभन्दा बढी नाफा गरिसकेको छ । हाल सिमेन्ट उद्योग नाफा आर्जन गर्ने गतिमा अगाडि बढिरहेको छ ।

आयल निगम सुधार्ने श्रेय पाउँलान् ?

नेपाल आयल निगम देशभर हरेक नागरिकसँग प्रत्यक्ष जोडिने संस्था हो । आयल निगममा सुधार ल्याउन सके त्यसको फाइदा पेट्रोल र डिजेल प्रयोग गर्ने उपभोक्ता, ढुवानी र सार्वजनिक यातायातको भाडादर र दैनिक उपभोग्य वस्तुमा समेत पुग्ने छ ।

नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेपछि कुलमान घिमिङ देशभर लोकप्रिय बनेका छन् । राजनीतिक नेतृत्वको साथ पाएपछि उनकै नेतृत्वमा देशभर लोडसेडिङ अन्त्य भएको छ । उदयपुर सिमेन्ट कारखानामा सुधार गरेपछि कतिपयले सुरेन्द्रकुमार पौडेललाई पनि ‘उदयपुरका कुलमान’ भन्ने गरेका थिए । अब पौडेललाई कुलमान घिमिङकै उचाइमा पुग्ने अवसर प्राप्त भएको छ ।

पौडेलले आफ्नो कुशल क्षमता प्रदर्शन गर्दै आयल निगममा सुधार ल्याउन सकेमा उनको व्यक्तिगत उचाइ त बढ्ने नै छ, त्यसबाट देशभर हरेक जनतालाई लाभ मिल्ने छ । पौडेललाई आयल निगमको नेतृत्व सुम्पिने ओली सरकारलाई समेत सुधारबाट राजनीतिक लाभ मिल्ने छ । पौडेलको नेतृत्वमा धेरैको आशा र भविष्य टिकेको छ ।