नेपाल – भारतका सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त गस्ती

नेपाल – भारतका सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त गस्ती


परासी – पश्चिम नवलपरासीको भारतीय सीमा क्षेत्रमा नेपाल र भारतीय सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने गरेका छन् । संयुक्त गस्ती टोलीले सीमा स्तम्भ ४९७ देखि ५०२ सम्म संयुक्त गस्ती थालेको हो ।

दुबै देशका स्थानीयवासीले सिमानामै पराल, ढुङ्गाा, माटो, काठ, बालुवाजस्ता सामान राखेर अवरोध गरेको भन्दै गस्तीका क्रममा दुुबै देशका सुरक्षाकर्मीले ती सामग्री हटाएका छन् । स्थानीयवासीलाई अबदेखि जथाभावी सामग्री नराख्न सचेत गराइएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठी परसौनीले जनाएको छ ।

संयुक्त गस्तीमा क्रममा सशस्त्र प्रहरी निरीक्षक माधव पण्डितको नेतृत्वमा नौ सदस्यीय नेपाली सुरक्षा टोली र सशस्त्र सीमा बल एसएसबी झुलनीपुरका निरीक्षक पङ्कज कुमारको नेतृवमा ११ जना भारतीय सुरक्षाकर्मीसहित दुवै प्रहरीतर्फका थप आठ जना सुरक्षाकर्मीको समेत सहभागिता रहेको थियो । गस्तीका क्रममा सीमाको सुरक्षा, सीमा स्तम्भको अवस्था, सीमा क्षेत्रको अतिक्रमण तथा सीमा छेउछाउ बस्दै आएका स्थानीयवासीको सुरक्षा लगायतका विषयमा छलफलसमेत गरिएको छ ।