काठमाडौं – सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त नगरेको बताएका छन् ।
मन्त्रिपरिषद् निर्णयबारे जानकारी दिन बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका बाँस्कोटाले राजदूत शेर्पालाई बर्खास्त नगरिएको स्पष्टीकरण दिएका हुन् ।
उनले राजदूत शेर्पालाई निकास दिनका लागि आग्रह गरिएको र १-२ दिनभित्रै शेर्पाले उचित निकास दिने बताएका हुन्। उनले भने, ’उहाँ डिप्लोम्याटिक पर्सानालिटी मात्रै नभएर राजनीतिक व्यक्तित्व हुनुहुन्छ। प्रधानमन्त्री र पार्टी अध्यक्षद्वयसमेतले यो विषयलाई गम्भीरतापूर्वक लिनुभएको छ। उहाँलाई निकास दिन भनिएको छ। शेर्पाजीले निकास दिनुहुनेछ।’
राजदूत शेर्पाको विषयमा छानबिन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेको र प्रतिवेदनको सिफारिसअनुसार अध्यक्षद्वयले राजीनामा दिन सुझाएको बाँस्कोटाले प्रस्ट्याए। मानव तस्करी र श्रम शोषणको आरोप लागेकी राजदूत शेर्पाको विषयमा छानबिन गर्न परराष्ट्र मन्त्रालयले समिति बनाएको थियो।
प्रतिक्रिया