उद्याेगमन्त्री यादवदेखि पूर्वराजा, पूर्वप्रधानमन्त्री र प्रधानमन्त्री ओलीले लिन्छन् ग्यासको सहुलीयत !

उद्याेगमन्त्री यादवदेखि पूर्वराजा, पूर्वप्रधानमन्त्री र प्रधानमन्त्री ओलीले लिन्छन् ग्यासको सहुलीयत !


काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ग्यासको सहुलियत लिनेमा उच्च ओहोदाका व्यक्तिहरु समेत रहेको खुलासा गरेका छन्।

नेपाल आयल निगमको ४९औँ वार्षिकोत्वसका अवसरमा मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री, उद्योगीहरुसहित पूर्वराजा ज्ञानेन्द्र शाहले पननि खाना पकाउने ग्यासको सहुलीयत लिने गरेको खुलासा गरेका हुन्। उनले आफू पनि सहुलीयतको ग्यास लिने गरेको बताए।

‘नेपाल आयल निगमले सहुलियत बाँड्दा हैरान भैसकेको रहेछ । ग्यासमा पूर्व राजा ज्ञानेन्द्रले पनि सहुलियत लिँदा रहेछन् । अहिलेका प्रधानमन्त्रीले त लिने भैहाले । पूर्वप्रधानमन्त्रीहरुले पनि सहुलियतको ग्यास नै लैजाँदा रहेछन्,’ उनले भने, ‘धन हुनेहरुले सहुलियत लिँदा त लाज मान्नुपर्ने हो ।कम्तीमा पूर्वराजा ज्ञानेन्द्रले भन्दिनुपर्थ्यो नि, म त यो सहुलियत लिन्न भनेर । पूर्व प्रधानमन्त्रीहरुले पनि भन्नुपर्थ्यो । मैले पनि भन्नुपर्थ्यो तर भनेको छैन खै ।’

२० रुपैयाँको एक कप चिया बेच्नेले पनि त्यही मूल्यमा ग्यास किन्नुपर्ने अनि १ सय रुपैयाँको एक कप बेच्नेले पनि त्यहि मूल्यमा ग्यास पाउने स्थिति रहेको उल्लेख गर्दै उनले भने, ‘ खै त सर्वसाधारणलाई सहुलियत?  खसीबखरी, एकै धोकडी भन्या जस्तो पो भयो।’ ठूलाबडा भएर पनि सहुलियत लिएको छ भने अब मिडियामा नाम सार्वजनिक गरिदिनुपर्ने उनको भनाइ छ।

अहिले सरकारले उपभोक्तालाई छुट दिनको लागि ग्यासमा ८० रुपैयाँ सहुलियत मूल्य दिँदै आएको छ, विगतमा प्रतिसिलिन्‍डर ४०० रुपैयाँसम्म सहुलियत दिएको थियो।