विद्युत् चुहावट गर्ने २४ जना पक्राउ

विद्युत् चुहावट गर्ने २४ जना पक्राउ


लहान – हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।

विद्युत् चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा सबै जनालाई नियन्त्रणमा लिइएको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए ।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरी रु दुई लाख ६० हजार राजश्व असुली गरेको प्रमुख यादवले बताउनुभयो । सो क्रममा विद्युत् मिटर, पङ्खा र टिभीलगायतका समानसमेत बरामद गरिएको छ ।