पाण्डवका देवल जीर्ण बन्दै

पाण्डवका देवल जीर्ण बन्दै


अमरगढी – उचित संरक्षण नभएपछि डडेल्धुरा जिल्लाका पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा पर्न थालेका छन् । जिल्लाको सदरमुकाम पश्चिम क्षेत्रमा अजयमेरु गाउँपलिका–५ मा अवस्थित देवदिव्यपुरका प्रसिद्ध देवलको समुचित संरक्षण र संवद्र्धन हुन नसकेपछि पुरातात्विक महत्वका यी ठाउँहरू ओझेलमा पर्न थालेका हुन् ।

जिल्लाकै प्रसिद्ध देवलहरु मानिँदै आएका यी ठाउँको विकास र संरक्षणमा सरकार, सामाजिक सङ्घसंस्था र स्थानीय निकायले खासै चासो नदेखाउँदा खण्डहरू ओझेलमा पर्दै गएकामा जिल्लाका संस्कृतिविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

जिल्लाकै देवल नमूना पर्यटकीयस्थल बनाउन सकिने देखिन्छ । देवलदिव्यपुरका देवल द्वापर युगमा भारतको हस्तिनापुरबाट आएका पाँच भाइ पाण्डवले एक रातमा पाँच देवल निर्माण गरेको किंवदन्ती रहेको छ । देवल निर्माण नागमल्ल राजाका पुर्खाहरु राज गरेका बोटे राज्य बनाइएको र उक्त राज्य गर्ने राजा त्रिलचीका तीन भाइमध्येका पृथ्वी पालले गरेका पाइएको छ ।

पृथ्वी पालका जेठा दाजु अजयपाल अजयमेरुकोटमा बसेका कारणले त्यस ठाउँको नाम नै राजा अजयपालको नामबाट अजयमेरुको राखिएको किंवदन्ती रहेको पाइन्छ । त्यस्तै राजा पृथ्वी पालले देवलका छ महीनाका छोरा घुँडा र कुमले हिँडिरहेका बेला मल्ल युद्धजस्तै हिँडिरेहको आफ्नो छोरालाई त्यो दिनदेखि पृथ्वी पालको थर परिर्वतन गरेर मल्ल हुन गएको किंवदन्ती रहेको स्थानीय पण्डित गङ्गादत्त पन्तले बताए ।

यस देवलका इतिहास पत्ता लगाउन राजा महेन्द्रका पालामा योगी नरहरिनाथ देवल दिव्यपुरमा पुगेपछि त्यसको इतिहास थाहा पाउनका लागि देवल क्षेत्रमा रहेका शिलालेखमा कुनै इतिहास पत्ता लग्न नसकेको आफूले जानकारी पाएको पन्तले बताए ।

देवलमा राखिएका पुरानो शिलालेखको बारेमा पत्ता लगाउन नसकेपछि नरहरिनाथले जस्ताको त्यस्तै लेखिएको शिलालेख छापी राजधानी लगेका पन्तले बताए । यस्तै धार्मिक महत्वका विभिन्न ठाउँमा बाटोमा बटुवाहरुको बासस्थानका लागि बनाएका धर्मशाला पनि ओझेलमा पर्न थालेका छन् ।

अमरगढी नगरपालिका–७ चमामा मूलबाटोमै रहेको तीनकोठे धर्मशालाको उचित संरक्षण हुननसकाले ओझेलमा पर्न थालेका छन् । अनपा–७ स्थित पोखरबजार नजिकै रहेको रातागुन (नाना सिलङ्गा) रहेको दुईकोठे धर्मशाला पनि छाना भत्किन लागेको छ । यी ठाउँहरू पहिचान ढल्ने अवस्थामा पुगेको इतिहासविद् भोजराज भट्टराईले बताए ।

उनले यी ठाउँका संरक्षण गरे आन्तरिक पर्यटकबाट वर्षेनी लाखौँ आम्दानी हुनसक्ने बताए । सरोकारवालाले उदासिनता देखाएका कारण यी जस्तै नेपालकै चौथौ धाममध्येको पर्शुरामधाम मन्दिर, धार्मिकस्थलसमेत उपेक्षाको सिकार भएको इतिहासविद् भट्टराईले चिन्ता व्यक्त गरे । पाँच वर्ष पहिले सदरमुकाम नजिक रानीधारामा रहेको दुईकोठे धर्मशालासमेत भत्काइ घर निर्माण भएकामा सरोकारवालाले कुनै चासो नदेखाएको देखिन्छ । रासस