इण्डो प्यासेफिक हेर्ने अमेरिकी जनरलसंग रक्षामन्त्रीको भेटवार्ता,के-के भयो कुराकानी ?

इण्डो प्यासेफिक हेर्ने अमेरिकी जनरलसंग रक्षामन्त्रीको भेटवार्ता,के-के भयो कुराकानी ?


काठमाडौं – दुई दिने नेपालको औपचारिक भ्रमणमा रहेका अमेरिकी सेनाको इण्डो प्यासेफिक कमाण्डका कमाण्डर एडमिरल फिलिप एस डेभिड्सनले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखेरलसँग शुक्रबार बिहान रक्षा मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

संयुक्त राज्य अमेरिकाको इण्डो प्यासेफिक प्रमुख एडमिरल डेभिडसन नेपालको दुई दिने भ्रमणको क्रममा बिहिबार काठमाण्डौ आएका हुन् ।
उपप्रधान तथा रक्षामन्त्री सँगको भेटमा द्विपक्षीय सैन्य सहायता र एशिया प्यासेफिक क्षेत्र भित्र पर्ने इण्डो प्यासेफिक क्षेत्रको सुरक्षा चुनौति बारे छलफल भएको छ । यसमा नेपाल र अमेरिकाले खेल्न सक्ने भूमिका बारे पनि छलफल भएको छ ।

साथै अमेरिकी सेनाले नेपाली सेनाको क्षमता विकाश र सैन्य कुटनैतिक सम्बन्धलाई बलियो बनाउँदै लैजाने विषयमा द्विपक्षीय छलफल भएको रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता बाबुराम गौतमले जानकारी दिए । भेटमा नेपाली सेना र अमेरिकी सेनाबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको बताईन्छ । सैनिक जनसम्र्पक निर्देशनालयले द्धिपक्षिय हित तथा पारस्पारिक सम्बन्धका विषयमा छलफल भएको जनाएको छ ।

भ्रमणमा रहेका सेना प्रमुखको टोलीले बिहिबार नै नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरिसकेका छन् । भेटवार्तामा नेपालस्थित अमेरिकी राजदूत रेण्डि डव्लु वेरी समेत सहभागी थिए । सेना प्रमुख एडमिरल डेभिडसनको टोलीले काभ्रेको पाँचखालमा रहेको नेपाली सेनाको विरेन्द्र शान्तिकार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्नेछन् ।