प्रहरी गाउँ पुग्दा ढोका थुनेर लुकेपछी…..

प्रहरी गाउँ पुग्दा ढोका थुनेर लुकेपछी…..


बाजुरा – गौमूल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुके। केही महिना अघि आएर बसेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हंसराज जोशीको टोलीलाई मदिरा व्यवस्थापन पछिको अवस्था बुझ्नका लागि उक्त गाउँपालिकाले गत सोमबार सुक्ष्म अनुगमनमा अन्द्राडी पठाएकामा स्थानीयवासी डरले लुकेका हुन्।

प्रहरीलाई देखेपछि कोही पनि घरबाट निस्केनन् भने घर बाहिर रहेका समेत डरले थरथर काम्न थाले। प्रहरीलाई देखिसकेका त्यहाँका केही युवाले यी त प्रहरी हुन् भनेर कानेखुसी गरे पनि कहिल्यै प्रहरी नदेखेका त्यहाँका वृद्धवृद्धा र बालबालिका भने डराएर प्रहरीसँग बोल्न नै सकेकन। ‘हामीले प्रहरी देखेकै छैनौँ, त्यसैले हामीले त डरले बोल्नसमेत सकेनौँ, यो गाउँमा कोही पनि आउँदैनथेु, युवक साउनी बोहराले भने, ‘हामीले प्रहरी देखेकै थिएनौँ तर उनीहरू पनि हामी जस्तै हुँदा रहेछन्।’

त्यस्तै अर्का युवा सौरे बोहराले भने, प्रहरी हामीभन्दा फरक हुँदा हुन् भनी सोचेको थिएँ, हामी जस्तै हुँदारहेछन्। प्रहरीको टोली गाउँमा पुगेपछि लुकेका स्थानीयवासी केही समयपछि सबै प्रहरी भएको ठाउँ वरिपरि जम्मा भए। उनीहरुले हामीलाई सबै कुरा भने। अब तपाईँ निरन्तर हाम्रो गाउँ आउनुहोला भनेर स्थानीयवासीले स्वागतसमेत गरेको प्रहरी हबल्दार मनिराम भण्डारीले बताए।

जिल्लाको सानो गाउँ हो अन्द्राडी। त्यहाँ स्थानीय सरकार गठन भएपछि मात्र गैरसकारी कार्यालयका कर्मचारी र जनप्रतिनिधि जान थालेको स्थानीयवासी धनबहादुर रोकायाले बताए। हामी गौमुल गाउँपालिकाकाकै विकट वडाका रूपमा छौँ। पहिले न नेता आउथे न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी नै, जब देश सङ्घीयतामा गयो तब आफ्नो गाउँ अन्द्राडीमा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी अनि प्रहरी आएको उनले बताए। अन्द्राडी निकै विकट र पिछडिएको वडाका रूपमा छ। यहाँ न टेलिफोन लाग्छ, नत रेडियो नै बज्छ, हामी सूचनाबाट समेत बाहिर छौँ, उनले भने।