स्वतन्त्रताको खोजीमा देश छोडेकी साउदी युवतीले पाउने भइन् क्यानडामा शरण

स्वतन्त्रताको खोजीमा देश छोडेकी साउदी युवतीले पाउने भइन् क्यानडामा शरण


एजेन्सी – आफ्नो परिवार छोडेर स्वतन्त्रताको खोजीमा निस्किएकी १८ वर्षकी साउदी युवती राहफ मुहमुद अल–क्वुनुनले क्यानडामा शरण पाउने भएकी छन् । संयुक्त राष्ट्रसंघले राहफलाई कानुनी रुपमा शरणार्थीको पहिचान दिएको अस्ट्रेलिया सरकारले बताएको छ ।

यसअघि उनलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसिआर) ले औपचारिक रुपमा शरणार्थीको पहिचान दिएको थियो । क्यानडा राहफलाई आश्रय दिन राजी भएको हो ।

राहफ बैंकक हुँदै अस्ट्रेलिया जाने प्रयासमा थिइन्, बैंककमा उनलाई रोकियो र आफ्नो परिवार भएको ठाउँ कुबेत फर्किन भनियो । उनले आफू नजाने भन्दै विमानस्थलकै होटल कोठामा बिरोध सुरु गरिन् । त्यसपछि विश्वको ध्यान उनमा खिचियो । उनले इस्लाम आधिकारिक रुपमा त्यागेकाले परिवारले यसको सजायका रुपमा आफ्नो हत्या गर्ने भन्दै घर फर्कन चाहिनन् ।

यहिबिचमा युएनएचसिआरले उनलाई शरणार्थीको पहिचान दियो । मुलतः कुनै देशहरुले शरणार्थीको पहिचान दिन्छन्, तर सरकारले त्यस्तो गर्न नसकेको अवस्थामा युएनएचसिआरले पनि दिने गरेको छ। शरणार्थीको पहिचान पाएकी राहफलाई क्यानडाले शरण दिने भएको हो । अर्थात उनी अब क्यानडामा शरणार्थीका रुपमा रहने छिन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देश जहिले पनि बिना कुनै आनाकानी मानवअधिकारको पक्षमा उभिने गरेको र राहफका बारेमा संयुक्त राष्ट्रसंघले आग्रह गरेपछि आफूहरुले शरण दिने निर्णय गरेको उल्लेख गरेका छन् । राहफलाई पुनर्स्थापित गर्नका लागि पहल गरेकोमा युएनएचसिआरले क्यानडाको स्वागत गरेको छ ।