सुदूरपश्चिम खप्तड गोल्डकप : एपिएफलाई हराउँदै काँकडभिट्टा सेमिफाइनलमा

सुदूरपश्चिम खप्तड गोल्डकप : एपिएफलाई हराउँदै काँकडभिट्टा सेमिफाइनलमा


धनगढी– सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा शनिबार भएको खेलमा काकडभिट्टाले एपिएफलाई २–१ गोलले पराजित गर्‍यो।

खेलमा अग्रता भने एपिएफले लियो। नवौं मिनेटमा युवराज खड्काले एपिएफलाई अग्रता दिलाएका थिए। श्याम नेपालीले दिएको पासमा युवराजले बललाई जाली चुमाए। श्याम नेपालीले दिएको लामो पासलाई युवराजले गोलमा परिणत गरेका थिए। ४१औं मिनेटमा विश्वास श्रेष्ठले बराबरी गोल फर्काए।

विशाल राईले दिएको थ्रु पासमा विश्वासले गोलरक्षकलाई समेत छलाएर खाली पोस्टमा गोल गरेका थिए। खेलको तीन मिनेट समय बाँकी रहँदा काँकडभिट्टाले अग्रता लियो। कर्नरमा आएको बल रिबाउन्ड भएपछि विकास राईले गरेको प्रहार गोलमा परिणत भएको थियो। उत्कृष्ट प्रदर्शन गरेका काँकडभिट्टाका विश्वास श्रेष्ठ म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे। यस जितसँगै काँकडभिट्टा खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो।

फाइनल प्रवेशका निम्ति टोलीले रुस्लान थ्री स्टार र च्यासलको खेलको विजेतासँग खेल्नेछ। प्रतियोगित अन्तर्गत आइतबारको खेलमा मनाङ मर्स्याङदी र नेपाल पुलिस क्लब भिड्ने छन्। मौफसलकै सर्वाधिक धनराशिको प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन्। उत्कृष्ट खेलाडीले यामाहाको १५० सीसी मोटरसाइकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५र१५ हजार रुपैयाँ पाउने छन्। प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ। प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ।