भारतीय लोकसभा चुनाव : हिउँदमै तात्यो राजनीतिक माहोल, कांग्रेस किन भयो अयोग्य ?

भारतीय लोकसभा चुनाव : हिउँदमै तात्यो राजनीतिक माहोल, कांग्रेस किन भयो अयोग्य ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अंग्रेजी नयाँ वर्षको शुरूवातसँगै भारतको राजनीतिक माहोल हिउँदमै तात्न थालेको छ । केन्द्रीय सत्ताको नेतृत्व चयनका लागि यसै वर्ष लोकसभा निर्वाचन हुँदैछ । सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) ले नरेन्द्र मोदीको नेतृत्वलाई निरन्तरता दिन खोजिरहेको छ भने भारतीय कांग्रेसले मोदीलाई सत्ताच्यूत गर्दै आफ्नो सरकार बनाउने कोसिस गरिरहेको छ । तर कांग्रेसको चाहना सहजै पूरा हुने देखिँदैन ।

भारतको सबैभन्दा ठूलो प्रदेश र सर्वाेधिक लोकसभा निर्वाचन क्षेत्र भएको उत्तर प्रदेश (यूपी) का दुई ठूला दलले कांग्रेसलाई गठबन्धनका लागि समेत अयोग्य ठानेका छन् । देशभर ‘मोदी विरोधी महागठबन्धन’ निर्माण गर्न खोजिरहेका बेला कांग्रेसलाई यूपीबाट ठूलो झड्का लागेको छ ।

अखिलेश–मायावती मिलन
उत्तर प्रदेशका ठूला दुई क्षेत्रीय दल समाजवादी पार्टी (सपा) र बहुजन समाज पार्टी (बसपा) ले कांग्रेसलाई गठबन्धनका लागि अयोग्य ठान्दै छुट्टै गठबन्धन बनाएका छन् । कांग्रेसले सपा र बसपासँग मिलेर भाजपालाई यूपीमा चुनौती दिन खोजेको थियो । उत्तर प्रदेशमा सपा र बसपालाई साथमा लिने र देशभर महागठबन्धन बनाउने कांग्रेसको रणनीतिमा धक्का लागेको छ भने कांग्रेसलाई अरु प्रदेशका क्षेत्रीय राजनीतिक दलले पनि कमजोर आकलन गर्ने अनुमान गरिएको छ ।

सपा र बसपा गठबन्धन घोषणा गर्दै शनिबार पूर्वमुख्यमन्त्री अखिलेश यादव र मायावतीले मुख्यशत्रु भाजपा र नरेन्द्र मोदीलाई नै घोषणा गरेका छन् । तर कांग्रेससँग मिल्दा आफूलाई फाइदा नहुने र कांग्रेसको भोट भाजपातिर गएर उल्टै भाजपा जित्ने विश्लेषण सपा–बसपा गठबन्धनको छ । गठबन्धनले कांग्रेस नेतृ सोनिया गान्धीका लागि रायबरेली र अध्यक्ष राहुल गान्धीका लागि अमेठी सिट छाडेको छ ।

यूपीका ८० लोकसभा सिटमध्ये दुवै दलले ३८–३८ सिट बाँडेका छन् भने दुई सिट कांग्रेस र दुई सिट अन्यका लागि छाडिएको छ । दुवै दलले सन् १९९३ मा मिलेर भाजपालाई हराएका थिए । क्षेत्रीय राजनीतिमा दुवै दललाई शक्तिशाली मानिन्छ । दुवै दल मिल्नु भाजपाका लागि चुनौती हुन सक्ने र कांग्रेस मुख्य प्रतिस्पर्धी समेत बन्न नसक्ने अवस्थामा पुगेको विश्लेषण भारतीय सञ्चारमाध्यममा भइरहेको छ ।

कांग्रेसको रणनीति
कांग्रेसले भने सबै ८० सिटमा चुनाव लड्ने तयारी गरेको छ । कांग्रेस उत्तर प्रदेश प्रभारी गुलाम नबी आजादले अध्यक्ष राहुल गान्धीको नेतृत्वमा सबै सिटमा उम्मेदवारी दिइने बताए । अब कांग्रेस उत्तर प्रदेशमा एक्लै हुने भएको छ । सपा र बसपाले कांग्रेस गठबन्धनमा सहभागी नहुने घोषणा गरेपछि आईतबार पार्टी प्रदेश मुख्यालयमा प्रभारी आजाद र प्रदेश अध्यक्ष राज बब्बरसहित नेताहरूको बैठक बसेको छ ।

बैठकपछि आजादले भने, ‘दुनियाँलाई थाहा छ कि लडाई कांग्रेस र भाजपाबीच हो । हामीलाई सहयोग गर्न चाहने दलसँग हामी सहयोग लिनेछौं । यो व्यक्तिगत लडाई होइन, भारतीय एकता र राष्ट्रिय अखण्डताको लडाई हो ।’ कांग्रेसले जनतासँग गरेको प्रतिवद्धता पूरा गरेको बताउँदै आजादले भाजपाले झुक्याउने काम मात्रै गरेको दाबी गरे ।

भाजपालाई चुनौती
भाजपा नेतृत्वमा नरेन्द्र मोदी फेरि सत्तामा आउन यूपीलाई महत्त्पूर्ण रुपमा लिइन्छ । सन् २०१४ को निर्वाचनमा नरेन्द्र मोदीको नेतृत्वले उत्तर प्रदेशबाट उल्लेख्य सिट जितेको थियो । सपा र बसपा एक भएर चुनाव लड्दा भाजपालाई यूपीमै चुनौती खडा भएको छ । सपा–बसपा गठबन्धनले प्रदेशका दलित, ओबीसी र मुस्लिम मतदातालाई आफूतिर तान्न जोड दिने देखिएको छ । यूपीमा १९.५ प्रतिशत मतदाता मुस्लिम छन् । यसअघिका निर्वाचनमा मुस्लिम भोट सपा र बसपामा बाडिँदा भाजपालाई फाइदा हने गरेको थियो ।

केही महिनाअघि सपा र बसपा मिलेर चुनाव लड्दा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उपमुख्यमन्त्री केशवप्रसाद मौर्यको गढमा भाजपा हारेको थियो । आसन्न लोकसभा चुनावमा मुस्लिम र ओबीसी भोट एकजुट भएर गठबन्धनमा गए यूपीमा भाजपालाई धेरै ठूलो धक्का लाग्न सक्ने विश्लेषण हुन थालेको छ । मुस्लिम मतदाता २७ निर्वाचन क्षेत्रमा निर्णायक मानिन्छन् । भाजपा जित्ने क्षेत्रमा समेत गठबन्धनले कडा टक्कर दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुस्लिम भोटरलाई प्रभावित पार्ने मुद्दाहरू तीन तलाक, राममन्दिर, गाईरक्षाको नाममा हुने हिंसा, उर्दू शिक्षकहरूको कटौती लगायत रहेका छन् । जसमा भाजपा सरकारको कमजोर प्रदर्शन रहेको छ । मुस्लिम भोट एकजुट भएर गठबन्धनतिर जाने प्रारम्भिक अनुमान गर्न थालिएको छ ।