काठमाडौं – संसदीय सुनुवाई समितिमा प्रस्तावित पाँच राजदूतविरुद्ध एउटा पनि उजुरी परेन । १० दिनको म्याद दिएर समितिले यहि पुस १८ गते प्रस्तावित पाँच राजदूतहरुविरुद्ध उजुरी आहृवान गरेको थियो । तर, निर्धा्रित समय गत आइतबारसम्म कुनै उजुरी प्राप्त नभएको सुनुवाई समितिले जनाएको छ ।
उजुरी नपरेकाले अब राजदूतहरुको सीधै सुनुवाई हुनेछ । आगामी माघ २ वा ३ गते प्रस्तावित राजदूतहरुको सुनुवाई गर्ने तयारी भइरहेको छ ।
गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले नयाँ राजदूत नियुक्तिको सिफारिस गरेको थियो ।
परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्सका लागि आवासीय तथा एन्डोरा, मोनाको र पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्तिको सिफारिस गरेको थियो ।
यसैगरी, दुर्गाप्रसाद भण्डारी कुवेतका लागि नेपाली राजदूतमा, भृगु ढुंगानालाई क्यानाडाका लागि आवासीय र क्युबा तथा जमैकाका लागि गैरआवासीय नेपाली राजदूतमा, मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो ।
प्रतिक्रिया