मेगा बैंकको लाभांश स्वीकृत

मेगा बैंकको लाभांश स्वीकृत


काठमाडौँ – मेगा बैंक लिमिटेडको आठौँ वार्षिक साधारणसभाले छ दशमलव ८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ ।बैंकको सोमबार काठमाडौंमा सम्पन्न साधारणसभाले ७० करोड ४५ लाख ५८ हजार ५७० नगद लाभांश र एक दशमलव ००२३३ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

शेयर लाभांश वापत १० करोड ३० लाख ९४ हजार ८७५ बराबरको शेयर शेयरधनीलाई उपलब्ध गराइनेछ । यस्तै ४० लाख ६६ हजार ६४० रकम भने सञ्चित मुनाफामा राखिएको छ ।

आर्थिक वर्ष २०७४-७५ मा बैंकले एक अर्ब ७१ करोड २१ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । आव २०७३-७४ मा त्यस्तो मुनाफा रु रु एक अर्ब १३ करोड दुई लाख रहेको थियो । बैंकले ४५ करोड ४० लाख रकम सरकारी राजश्वमा आयकरको रूपमा भुक्तान गरेको छ ।

चालु अवाको पहिलो त्रैमाससम्म बैंकले तीन अर्ब १५ करोडले निक्षेप वृद्धि गरी ६६ अर्ब १२ करोड पु¥याएको छ । यस्तै ६२ अर्ब २५ करोड ऋण लगानी गरेको छ । सो अवधिमा बैंकले ४० करोड ४६ लाख खुद मुनाफा गरेको छ । बैंकले हाल १०२ शाखा कार्यालय, १८ एक्सटेन्सन काउण्टर, ८१ एटिएम र ११९ शाखा रहित बैंकिङ शाखाबाट सेवा दिइरहेको छ ।

बैंकले मर्चेट बैंकिङका लागि मेगा क्यापिटल लिमिटेड स्थापनाको प्रक्रिया अगाडि बढाएको बैंकका अध्यक्ष भोजराज शाहले जानकारी दिए । बैंकको हाल चुक्ता पूँजी १० अर्ब २८ करोड ५५ लाख २६ हजार ५७८ कायम रहेको छ ।

बैंकले ‘हलोदेखि हाइड्रो’ सम्मको नाराका साथ ऊर्जा, कृषि, पर्यटन र भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्दै आएको छ । बैंकले टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी गत वैशाख ३० गतेदेखि एकीकृत कारोवार गर्दै आएको छ ।