थ्री स्टार खप्तड गाेल्डकपकाे सेमिफाइनलमा

थ्री स्टार खप्तड गाेल्डकपकाे सेमिफाइनलमा


धनगढी– रुस्लान थ्री स्टार तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार धनगढी रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा च्यासल युवा क्लबलाई १–० ले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो ।

खेलको सातौं मिनेटमा सुनील बलको पासमा फोडे फोफानाको प्रहारलाई च्यासलका गोलरक्षक दिनेश थापामगरले पन्च गरे । १९ औं मिनेटमा च्यासलका हेमन्त थापामगरको फ्रिकिक क्रसबारमा लागेर फर्कंदा च्यासल अग्रता लिनबाट चुक्यो ।

२८ औं मिनेटमा सुनील बलले पेनाल्टी क्षेत्रबाहिर बाट गरेको प्रहार पोस्टको भित्रि भागमा लाग्दै फर्कियो । ३९ औं मिनेटमा थ्रीस्टारका अनन्त तामाङले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारले गोलरक्षकलाई कुनै समस्या दिन सकेन ।

दोस्रो हाफको ५८ औं मिनेटमा च्यासलले अग्रता लिने सुवर्ण अवसर गुमायो । अर्मान्डको प्रहार अनन्तले ब्लक गरेपछि आएको रिबाउन्डमा सन्तबहादुर गुरुङको प्रहारले पोस्टको दिशा लिन सकेन।

८१ औं मिनेटमा रन्जन विष्टको उत्कृष्ट भली प्रहार क्रसबारमा लागेर फर्कियो । खेल सकिन तीन मिनेट समय बाँकी रहँदा थ्री स्टारका लागि रुपेश केसीले गोल गरे । च्यासलका गोलरक्षक दिनेशले सुनील बलको क्रसमा रुपेशको हेडर बचाउने प्रयास गरेपनि आफ्नै डिफेन्डर बाधक बने।

खेलमा निर्णायक गोल गरेका थ्री स्टारका रुपेश केसी आरके कन्स्ट्रक्सन म्यान अफ द म्याच बने । उनले १० हजार रुपैयाँ प्राप्त गरे । विजयी टोलीका प्रशिक्षक उज्ज्वल मानन्धरले खेलाडीले निकै मिहिनेत गरेको कारण नै जित हासिल गरेको बताए । थ्री स्टारले फाइनल प्रवेशका लागि बुधबार मेची नेत्रालय काक्करभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ ।

मोफसलकै सर्वा्धिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । मंगलबार अन्तिम क्वाटरफाइनलमा सीएमजी क्लब संकटाले क्यामरुनको दाफिनास एफसीको सामना गर्नेछ ।