शिलान्यासकाे ३३ वर्षसम्म अलपत्र सडक पूर्वमन्त्री भट्टको पहलमा कालोपत्रे हुँदै

शिलान्यासकाे ३३ वर्षसम्म अलपत्र सडक पूर्वमन्त्री भट्टको पहलमा कालोपत्रे हुँदै


धनगढी– शिलान्यास भएको ३३ वर्षपछि बोगटान सडक पूर्वमन्त्री तथा सांसद लेेेखराज भट्टको पहलमा कालोपत्रे हुने भएको छ।

कैलालीको सहजपुरदेखि डोटीको बडीकेदारसम्मकाे ५० किलोमिटर सडक कालाेपत्रेका लागि बोलपत्र आह्वान भई सडक निर्माण अघि बढेको कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्रयाक्ट म्यानेजर ईश्वर बस्नेतले जानकारी दिए।

उनका अनुसार सहजपुर–बोगटान सडक कालोपत्रे रु दुई अर्ब ५ करोडमा ठेक्का भई निर्माण अघि बढेको छ । कालोपत्र ३० महीनाभित्र सम्पन् गरिने जनाइएको छ । कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको बिपी नगरदेखि बडीकेदारसम्म २८ किमी सडक कालोपत्रेका लागि निर्माण कम्पनीका कर्मचारीहरु खटिई सकेको म्यानेजर बस्नेतले बताए।

सडक कालोपत्रे गर्ने क्रममा कैलाली र डोटीमा गरी झण्डै छ हजार रुख काट्नुपर्ने अवस्था आएकाले सो प्रक्रिया पनि अघि बढाइएको निर्माण कम्पनीले जनाएको छ । भारतको एक्जिम बैंकको ऋण प्रक्रियाबाट नेपाल सरकारको सडक विभागले सडक कालोपत्रे गर्न लागेको कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्रयाक्ट म्यानेजर बस्नेतले बताए।

आर्थिक समृद्धिमा मेरुदण्ड मानिएको सो सडकले कैलालीका तत्कालीन दुई र डोटीका १७ गाविसका बासिन्दालाई जोड्छ । सहजपुरदेखि बडीकेदार गाउँपालिका हुँदै बोगटानको सिमचौर भएर दिपायल जोड्ने उक्त सडक २०४२ सालमा शिलान्यास भएको थियो ।