भारतमा मोदी हराउने ‘मिसन’ : चुनावअघि कसरी फैलियो देश टुक्रिने डर ?

भारतमा मोदी हराउने ‘मिसन’ : चुनावअघि कसरी फैलियो देश टुक्रिने डर ?


काठमाडौं – आर्थिक शक्ति राष्ट्रका रुपमा उदीयमान भारतको सत्ता सम्हाल्ने रस्साकस्सी हुनु सामान्य नै हो । साना राष्ट्रका चुनावमा पनि आरोप–प्रत्यारोप र चुनावी प्रचारवाजी खुबै हुने गर्छ । भारतीय चुनावमा यसपालि विशेष चित्र देखिँदैछ । सन् २०१९ को लोकसभा चुनाव हुन केही महिना अझै बाँकी नै रहँदा विपक्षी पार्टीहरू भारतीय जनता पार्टी (भाजपा) का नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदी र अध्यक्ष अमित शाहको जोडीलाई हराउन सके मात्रै देश टुक्रिनबाट जोगिने प्रचारवाजी गरिरहेका छन् ।

भारत देश टुक्रिने अवस्थामा कसरी पुग्यो ? देश टुक्रिने विषयलाई विपक्षीले चुनावी मुद्दा किन बनाए ? चुनाव नजिकिँदै जाँदा भारतीय राजनीतिमा उठिरहेका गम्भीर मुद्दाले के संकेत गरिरहेको छ ? थुप्रै प्रश्नबीच भारतमा चुनावी राजनीतिक तातेको छ । प्रधानमन्त्री मोदीको दल भाजपाविरुद्ध अधिकांश विपक्षी दल एकजुट भएर महागठबन्धन बनाइरहेका छन् । सबै दलको मुख्य एजेण्डा मोदीलाई हराउनु रहेको छ । चुनाव कसलाई जिताउने ? विपक्षी खेमामा प्रधानमन्त्रीको पात्र को हो ? यी प्रश्न मोदीलाई हराउने मुद्दासामु ओझेल परेका छन् । विपक्षीले एकोहोरो नारा लगाइरहेका छन्, देश बचाउन मोदीलाई हराउनुपर्छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले शनिवार देशभरका विपक्षी पार्टीलाई एकजुट गराउँदै शक्ति प्रदर्शन गराएकी छन् । कलकत्तामा भएको कार्यक्रममा अधिकांश विपक्षी दलका नेता सहभागी भए । कांग्रेस र भाजपासँग गठबन्धन र सहकार्य नगर्ने भनेर पटक–पटक कसम खाएका र आफूलाई छुट्टै राजनीतिक धार र संस्कार भएको पार्टी बताउने आम आदमी पार्टीका नेता अरविन्द केजरिवाल समेत मोदी विरोधी प्रदर्शनमा कांग्रेससँगै उभिए ।

कार्यक्रममा बोल्दै अधिकांश नेताहरूले मोदीबाट देशलाई खतरा भएको र देश बचाउन मोदीलाई हराउनुपर्ने दाबी गरे । विपक्षीको प्रदर्शनपछि प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिक्रिया सार्वजनिक गरे, ‘विपक्षीको महागठबन्धन मोदीविरुद्ध मात्रै होइन, देश र जनताविरुद्ध पनि छ ।’ आगामी चुनावमा भारतमा नेता र पार्टीका मुद्दाभन्दा पनि देश र जनताको अस्तित्व नै धरापमा पर्ने भनेर चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । प्रधानमन्त्री मोदीको शासनकालमा गरीब र किसानको आत्महत्या गर्नुपरेको, दलित र मुस्लिमले आफ्नो कुरा समेत राख्न नपाउने अवस्था आएको, स्वतन्त्र मिडियामाथि प्रहार भएको, संवैधानिक निकायमाथि हस्ताक्षेप गरेको लगायतका आरोप विपक्षीले लगाउने गरेका छन् ।

दलित र मुस्लिमले आफ्नो कुरा राख्न नै नपाउने अवस्था आएकाले जुनसुकै बेला पनि देशमा विष्फोटन आउन सक्ने खतरा रहेको विपक्षीको प्रचारवाजी छ । साम्प्रदायिक र जातीय सहिष्णुताका सन्दर्भमा मोदी सरकार क्रूर देखिएको भन्दै विपक्षीले देशमा जातीय र धार्मिक सहिष्णुता कायम राख्न मोदीलाई हराउनुपर्ने प्रचारबाजी गरिरहेका छन् । प्रतिरक्षामा मोदीले विपक्षीलाई देश र जनता विरोधी गठबन्धन भनिरहेका छन् । आ-आफ्ना तर्क र तथ्य स्थापित गराउन दुवै पक्षले चुनावका बाँकी दिनमा प्रचारबाजी गरिरहँदा अवस्था झनै प्रष्ट हुनेछ । तर तत्काल के भन्न सकिन्छ भने भारतीय चुनाव यसपालि राष्ट्रियता, जातीय, साम्प्रदायिक मुद्दामा समेटिने देखिएको छ ।