काठमाडौं – कांग्रेस लामो प्रजातान्त्रिक अभ्यास गरेको संसदीय दल भनेर बुझिन्छ । तर कांग्रेसका पछिल्ला क्रियाकलापले कांग्रेसमा गम्भीर संसदीय विचलन आएको देखिएको छ । कांग्रेस पार्टीको नेतृत्वमा सभापति शेरबहादुर देउवा आएपछि कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित भयो । जनमतमा पराजित भएको कांग्रेसले सत्तासुविधाबाट वञ्चित हुनुपरेको छ । कार्यपालिकामा मात्रै होइन, कांग्रेस व्यवस्थापिकामा पनि अल्पमतमा छ ।
कार्यपालिकाबाट पूरै वञ्चित र व्यवस्थापिकामा अल्पमतमा रहेको कांग्रेससामु संसदमा सामान्य आवाज उठाउनुबाहेक विशेष हैसियत छैन । आमनिर्वाचनले नेता चुन्ने र संसदको बहुमतले कानून बनाउने प्रणाली नै संसदीय सर्वाेच्चता हो । संसदीय सर्वाेच्चताले संविधान संशोधनको अधिकार समेत राख्छ । तर अल्पमतमा रहेको कांग्रेस संसदीय सर्वाेच्चतालाई नै चुनौती दिन खोज्दै ‘बाहुबली’ पारामा उत्रिनु चाहिँ अनौठो परिदृश्य देखिएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत भएदेखि नै कांग्रेसले बाहुबली शैली देखाइरहेको छ । कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पतालको विषयलाई बहाना बनाएर कांग्रेसले बलजफ्ती कानून निर्माण प्रक्रियामा तगारो खडा गर्ने प्रयत्न गरिरहेको छ । कांग्रेसको जायज मागलाई सम्बोधन गर्दै सरकारले कांग्रेस नेताका नाममा रहेका अस्पताललाई खारेज नगर्ने प्रतिवद्धता जनाइसकेको छ ।
अस्पतालको बहाना देखाउँदै कांग्रेसले संसदको बहुमतलाई बन्धक बनाउने र कानून निर्र्माण प्रक्रिया नै अवरुद्ध गर्न खोजेको देखिएको छ । तर कांग्रेसको बलजफ्तीका बाबजुद प्रतिनिधिसभा बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित भएर राष्ट्रिय सभामा पुगेको छ । कांग्रेसको विरोधबीच राष्ट्रिय सभामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश भएको छ । विधेयक पेश गर्दा कांग्रेसले प्रतिनिधि सभामा देखाएकोझैं शैली राष्ट्रिय सभामा पनि देखाएको छ । राष्ट्रिय सभामा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउन ७२ घण्टाको समय तोकिएको छ ।
कांग्रेसले संसदमा विधेयकमाथि सौहार्द छलफल गर्ने, संशोधन दर्ता गर्ने, वैधानिक तरिकाले फरक मत राख्ने लगायतका लोकतान्त्रिक विधि अपनाएको छैन । कांग्रेसको एउटै नीति देखिन्छ – संसदमा अवरोध खडा गरेर कानून निर्माण प्रक्रिया अवरुद्ध गर्ने र बहुमत सांसदलाई अनिर्णयको बन्दी बनाउने । कांग्रेसले देखाइरहेको यस्तो चरित्र लोकतान्त्रिक संस्कार विपरीत छ । कांग्रेसले वर्षाैदेखि भन्ने गरेको प्रजातान्त्रिक चरित्र एउटै निर्वाचनमा पराजित हुँदा स्खलित भएको हो ? कि पूर्वराजा ज्ञानेन्द्र शाहसँग घाँटी जोडेर प्रजातन्त्र मास्न खोज्ने शेरबहादुर देउवा नेतृत्वमा भएकाले कांग्रेसले लोकतन्त्र बिर्सिएको हो ? यस्ता गम्भीर प्रश्नसँगै कांग्रेस खुकुरीको धारमा यात्रा गरिरहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमवारको राष्ट्रियसभा बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्दा कांग्रेस सांसद शान्तसँग बस्न सकेनन् । लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गर्दै कांग्रेस सांसदले बलजफ्ती होहल्ला गरिरहे । तर पनि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले कारवाही प्रक्रिया रोकेनन् ।
त्यसपछि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले मन्त्री पोखरेलको प्रस्तावमाथि छलफल शुरू भएको घोषणा गर्दै विधेयकको सैद्धान्तिक पक्षमाथि मात्रै छलफल हुने र त्यसमा सहभागी हुन चाहने सदस्यलाई नाम टिपाउन आग्रह गरेका थिए । कांग्रेस सांसदको नाराबाजीबीच कुनै पनि सदस्यले नाम नटिपाएपछि छलफल समाप्त भएको घोषणा गर्दै राष्ट्रियसभा अध्यक्षले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेश गरे र सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका छन् । विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउन ७२ घण्टाको समय दिइएको उनले बैठकमा जानकारी दिए ।
कांग्रेसले अझै पनि संसद बैठकमा सौहार्दता नदेखाउने जनाउ दिएको छ । राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले संसद अवरोध गर्दा पनि प्रक्रिया नरोकिएकाले बाँकी प्रतिक्रियामा पनि भाग नलिने बताए । संसदमा बलजफ्ती गर्न नसकेपछि कांग्रेसले अहिले सडक प्रदर्शन समेत गरिरहेको छ । कांग्रेसले लोकतान्त्रिक चरित्र बिर्सिएपनि सत्तापक्ष भने सहमति गरेर अगाडि बढ्न तयार देखिएको छ । राष्ट्रिय सभामा नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले सहमतिबाट अघि बढ्न सकिने बताए । ‘राष्ट्रियसभा छलफल गर्न र आवश्यक संशोधन पनि हाल्न सकिने ठाउँ हो । सहमति गरेर अगाडि बढ्न सकिन्छ ।’ राष्ट्रियसभा आगामी बैठक बिहीबार बोलाइएको छ ।
प्रतिक्रिया