काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रेका नेपाल विद्यार्थी संघका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ। सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने नीति अनुरुप नेविसंघले सरकार विरुद्ध नाराबाजी गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
डा. गोविन्द केसीसँग गरिएको सम्झौता तोडेको, आफ्ना नेता गिरिजा प्रसाद र शुसिल कोइरालाका नामका अस्पताल खारेज गर्न खोजेको लगायतका आरोप लगाउँदै कांग्रेसका भातृ संगठनहरुले लगातार प्रदर्शन गरिरहेका छन् ।
प्रहरीलाई छक्याउँदै निषेधित क्षेत्र तोडेर प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि पुगेका नेविसंघका कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजीसहित सिस्टी फुक्दै विरोध प्रदर्शन गरेका थिए ।
नेविसंघका नेता कार्यकर्ता छापामार शैलीमा निषेधित क्षेत्र प्रवेश गरेर नाराबाजी गर्न थालेपछि प्रहरीले लाठीचार्ज गर्दै धरपकड सुरु गरेको थियो । सो क्रममा प्रहरीले दुई दर्जन नेविसंघका नेता कार्यकर्तालाई पक्राउ गरेको बताइएको छ । नेपाल विद्यार्थी संघले सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको थियो ।
प्रतिक्रिया