भरतमोहन अधिकारीलाई मेडिसिटीबाट ह्याम्स सारियो

भरतमोहन अधिकारीलाई मेडिसिटीबाट ह्याम्स सारियो


काठमाडौं – भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत नेकपा नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई मण्डिखाटारस्थित ह्याम्स अस्पताल सारिएको छ ।

मुटु र फोक्सोसम्बन्धी रोगबाट पीडित अधिकारी एक महिनाअघि मेडिसिटी भर्ना भएका थिए । तर, मेडिसिटीको उपचारमा चित्त नबुझेपछि अधिकारीलाई बिहीबार ह्याम्स ल्याइएको पारिवारिक स्रोतले जनाएको छ ।

अधिकारी तत्कालिन मनमोहन अधिकारी नेतृत्व सरकारका सफल अर्थमन्त्री हुन् । उनी ‘आफ्नो गाउँ आफैं बनाऔं र वृद्धवृद्धालाई भत्ता दिने’ जस्ता लोकप्रिय कार्यक्रमका परिकल्पनाकार हुन् । तत्कालिन एमालेलाई मनमोहन सरकारको ९ महिने कार्यकालको ब्याजमा टिकेको आरोप लाग्दै आएको छ ।

तर, एमालेको लोकप्रियता शिखरमा पुर्याउन महत्वपूर्ण योगदान दिएका नेता अधिकारीको स्वास्थ्य उपचारमा तत्कालिन एमाले र हालको नेकपाले चासो नदिएको गुनासो परिवारको छ ।

औपचारिकताका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा नेता भेट्न अस्पताल पुगेका थिए । तर, उपचार खर्चबारे पहल गरेका छैनन् । अधिकारीको महँगो उपचारमा परिवारले खर्च व्यहोर्दै आएको छ ।