प्रहरीले काम गर्न नसक्दा राजनीतिक दबावलाई बहाना बनाउनु हुन्न : गृहमन्त्री थापा

प्रहरीले काम गर्न नसक्दा राजनीतिक दबावलाई बहाना बनाउनु हुन्न : गृहमन्त्री थापा


काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरीले काम गर्न नसक्दा राजनीतिक दबाव र प्रभावलाई बहाना बनाउन नहुने बताएका छन् ।

नेपाल प्रहरीको तालिम केन्द्रमा मंगलबार बिहान आयोजित प्रहरी इन्स्पेक्टरहरुको दीक्षान्त समारोहमा बोल्दै उनले नीतिगत तहमा राजनीतिक प्रभाव भए पनि अन्यमा नरहेको दाबी गरे ।

गृहमन्त्री थापाले भने, ‘नीतिगत तहमा स्वभाविक रूपमा राजनीतिक दबाव छ । तर, अन्यमा प्रहरी नै जिम्मेवार छन् ।’ प्रतिपक्ष दलहरुले प्रहरीका पछिल्ला केही अनुसन्धानप्रति प्रश्न उठाइरहेका बेला गृहमन्त्री थापाले प्रतिपक्षको नाम नलिई त्यसलाई राजनीतिक अभिष्ट पूरा गर्न चालिएको अतिरञ्जित कदमको संज्ञा दिए ।

अपराधलाई अतिरञ्जित गरिए पनि त्यसमा प्रहरी सचेत हुनुपर्ने गृहमन्त्री थापाको भनाइ छ । ‘राजनीतिक अभिष्ट पूरा गर्न अपराधलाई अतिरञ्जित गरेर प्रस्तुत गर्ने गरिएको छ’, गृहमन्त्री थापाले भने, ‘यस्तोमा निर्दोष फस्न सक्ने भएकाले सचेत हुन जरुरी छ ।’