काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । उनीहरु नेपाल सरकार, गृह मन्त्रालयको यही फागुन ७ गतेको निर्णयले एसएसपी र एसपीमा पदोन्नती भएका हुन् ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका १३ जना र प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नति भएका २६ जना रहेका छन् । सोही निर्णयले पदोन्नति भएका १ जना प्रहरी वरिष्ठ उपरीक्षक हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका छन् ।
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी आईजीपी खनालले संगठन र सेवाप्रतिको निष्ठा, क्षमता, व्यावसायिकता, इमानदारिता सहित प्रहरी कर्मचारीहरु सदैव संगठनको श्रीवृद्धिका लागि एक ढिक्का भएर काम गर्नुपर्ने बताए ।
राष्ट्रको सार्वभौममाथि असर गर्ने क्रियाकलाप तथा गैरकानुनी गतिविधि विरुद्ध कानुनी कारवाही गर्न प्रहरी कर्मचारीहरु अझैं एकताबद्ध भई सशक्त र दृढताकासाथ अगाडि बढ्नुपर्ने उनले उल्लेख गरे ।
प्रहरी संगठनलाई अझै सक्षम, बलियो र गतिशील बनाउन संगठनको भावना अनुरुप काम गर्नुपर्ने उल्लेख गर्दै आईजीपी खनालले भने, ‘उत्कृष्टतामा पनि सर्वोत्कृष्ट हुन आफ्नो लगनशीलता नछोडनुस ।’ संगठनलाई पुर्याएको योगदान, व्यावसायिकता र प्रहरी नियमावलीको प्रावधान लगायतलाई पदोन्नतिको आधार बनाइएको उनले चर्चा गरे ।
सो अवसरमा खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले स्रोत साधन परिचालन लगायतमा सहजता आएको चर्चा गर्दै अबको चरणमा नागरिक समाजलाई नै नेतृत्व दिँदै थप सक्रिय बनाएर कार्यक्रमलाई अघि बढाउनुपर्ने बताए ।
कार्यक्रमले समाजका हरेक व्यक्तिलाई काम गर्ने मौका प्रदान गर्ने र संस्थागत दीगो विकास गर्न समेत सहयोग पुग्ने भएकोले मौकाको उच्चतम सदुपयोग गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया