काठमाडौं – नेपाली सेनाका पूर्व फोर्स कमाण्डरहरुलाई सम्मान गरिएको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले स्थापना गरेको हल अफ फेममा प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्मानित भएका पूर्व फोर्स कमाण्डरहरुको तस्वीर अनावरण समेत गरेका छन् ।
वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले नेपाली सेनाबाट विगतमा विभिन्न राष्ट्रसंघीय शान्ति मिशनहरुमा फोर्स कमाण्डर तथा हेड अफ मिशनका रुपमा कार्य गरेका रथीवृन्दको तस्वीर समावेश गरि सम्मान गर्नुका साथै उनिहरुलाई प्रशंसा पत्र प्रदान गरेको छ ।
सम्मानित हुनेहरुमा अवकासप्राप्त रथी कृष्ण नारायण सिंह थापा, रथी भिक्ट्री शम्शेर ज.ब.रा, रथी बालानन्द शर्मा, रथी पवन जंग थापा र हालका प्रधानसेनापति पूर्णचन्द्र थापा रहेका छन् ।
संसारका धेरैदेशहरुले आ-आफ्नो तालिम केन्द्र, प्रतिष्ठान तथा कलेजहरुबाट तालिम प्राप्त गरेका स्वदेशी तथा विदेशी शिक्षार्थीहरुमध्ये उच्च पद हासिल गर्न सफल भएका व्यक्तिहरुको तस्वीरलाई हलमा राखी सम्मान प्रकट गर्ने प्रचलन अनुरुप नै नेपाली सेनाले पनि सैनिक प्रतिष्ठान खरिपाटीबाट ऐकेडेमी हल अफ फेमको शुरुवात गरेको हो ।
त्यसैगरी प्रधानसेनापति थापाले आजै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पांचखालमा साउथ सुडानस्थित युनिमिस मिसनमा तैनाथ हुन जाने श्री देविदत्त गण (शा.से.) नवौं डफ्फाका सकलदर्जाहरुको प्रि(डिप्लोयमेण्ट तालिमको ग्राण्ड रिहर्सलको अवलोकन गर्नुको साथै सैनिक प्रतिष्ठान, खरिपाटीको निरिक्षण समेत गरेका थिए ।
उक्त समारोहमा रक्षा सचिव, बलाधिकृत रथी, बलाध्यक्ष रथी, नेपाली सेनाका अवकाश प्राप्त तथा वहालवाला रथीबृन्दहरु, शान्ति सेना निर्देशनालयका पूर्व निर्देशकहरु, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिहरु, नेपाल प्रहरीका प्रतिनिधि लगायत नेपाली सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया