विप्लव नेतृत्वको नेकपाले लियो देशैभर एनसेलमाथि भएको आक्रमणको जिम्मा

विप्लव नेतृत्वको नेकपाले लियो देशैभर एनसेलमाथि भएको आक्रमणको जिम्मा


काठमाडौं – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमा शुक्रबार बेलुका काठमाडौं उपत्कासहित देशभरका विभिन्न ठाउंमा एनसेलका कार्यालय तथा टावरमा भएका बम विस्फोट पछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले जिम्मा लिएको छ । फागुन १० गते राति एनसेलको मुख्यालय र देशैभरी बम विष्फोटसहित टावरमा आगजनी गरिएको थियो ।

ललितपुरको नख्खु, नवलपरासी, कास्की, कञ्चनपुर, बुटवल, अछाम, कपिलवस्तु, काभ्रे, रौतहट,गारेखागायतका जिल्लामा एनसेलको टावरमा बम विस्फोट तथा आगजनी भएपछि देशभरि नै सुरक्षा सतर्कता बढाएको छ । विप्लव नेतृत्वको नेपाले एनसेलले ७३ अर्बभन्दा बढी कर छलेको, अदालतले गरेका निर्णय पालना नगरेको नेपालमा प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, राज्यको स्वामित्वमा रहेको नेपाल दूरसञ्चारका सेवाहरूलाई निष्प्रभावी बनाउन त्यहाँका कर्मचारीहरूलाई खरिद गरेको, टेलिकमका कर्मचारीलाई प्रभावित पारी आफ्नो ग्राहक सङ्ख्या बढाएको लगायतका गम्भीर गल्ती गरेकोले यो कारवाही गरिएको नेकपाले जनाएको छ ।

नेकपाले एक पर्चा जारी गरी एनसेलमाथि गरिएको आक्रमणको जिम्मा लिएको हो । उक्त पर्चामा नेकपाले अहिले गरिएको कारवाही चेतावनीस्वरूप सांकेतिक मात्रै गरिएको समेत जनाएको छ । साथै यदि यसको अबज्ञा गरेर कर नतिरे एनसेलले थप गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि पर्चामा दिइएको छ । नेकपाले ललितपुरमा एक जनाको ज्यान गएको घटनालाई दुःखद् भन्दै व्यक्ति वा सर्वसाधारणप्रति कुनै लक्षित वा मानवीय क्षति गर्ने योजना नरहेको समेत जनाएको छ ।

उक्त दुर्घटनामा पार्टी दुखित भएको नेकपाले जनाएको छ । ललितपुरको नख्खुमा भएको बम बिस्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु तथा दुईजना घाइते भएका थिए ।  उक्त घटनामा घाइते भएका ललितपुर ४ बागडोल बस्ने २६ को प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धरको उपचार भइरहेको छ ।