काठमाडौं– विद्यालय स्रोतव्यक्ति समाज केन्द्रीय समितिले स्रोतव्यक्तिको काज फिर्ता र अवकास दिने सरकारी निर्णय तत्काल फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
आइतबार राजधानीमा आया्जित पत्रकार सम्मेलनमा समितिले स्रोत व्यक्तिहरुलाई पदमुक्त गर्ने वा काज फिर्ता गर्ने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएको हो ।
सरकारले कार्यकर्ता भर्ती गर्नका लागि स्रोतव्यक्तिको काज फिर्ता र अवकास दिने निर्णय गरेको आरोप समितिले लगाएको छ । स्रोतव्यक्ति समाजका पूर्व अध्यक्ष तथा संघर्ष समितिका अध्यक्ष रामबाबु ढकालले बन्दुक बोकेकाले सत्ता चलाउने तथा कलम बोक्न सिकाउनेलाई राज्यले विभेद गर्ने भन्दै गुनासो गरे।
उनले सरकारी निर्णयविरुद्ध उपत्यका केन्द्रित आन्दोलन चर्काउने चेतावनी पनि दिए।
देशभरका १ हजार ५३ स्रोतव्यक्तिहरुमध्ये स्थायी शिक्षकबाट नियुक्त भई काजमा स्रोतव्यक्ति भएकालाई काज फिर्ता र बाँकी ७५ जनालाई अस्थायी शिक्षक सरहको सुविधा दिई काममा लगाउने निर्णय गरेपछि शिक्षा मन्त्रालयले सोही अनुसार मातहतलाई पत्राचार गरेको छ ।
संघर्ष समितिले दरबन्दी सिर्जना गरेर शिक्षा मन्त्रालय अन्तर्गत कार्यरत रहेकै स्थानीय तहमा स्रोतव्यक्तिको व्यवस्थापन गरिनुपर्ने माग गरेको छ ।
प्रतिक्रिया