साढे ३८ हजार कर्मचारीको समायोजन, अझै ४७ हजार बाँकी

साढे ३८ हजार कर्मचारीको समायोजन, अझै ४७ हजार बाँकी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले सोमबारसम्ममा ३८ हजार ८१७ जना कर्मचारीलाई समायोजनको पत्र दिएको छ। अहिलेसम्म समायोजन भएका कर्मचारीमा सचिव ७७ जना, सहसचिव ६६७, उपसचिव एकहजार ७३० जना, शाखा अधिकृत चार हजार ७९३, नायब सुब्बा नौ हजार ८०३, खरिदार पाँच हजार ८९२, कार्यालय सहयोगी १० हजार ९४८ जनालाई समायोजनको पत्र प्रदान गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

अझै करिब ४७ हजार जना कर्मचारी समायोजन हुन बाँकी रहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। अब संसद्, परराष्ट्र, न्याय र स्वास्थ्य सेवाका कर्मचारी समायोजन हुन बाँकी छन्। उनले भने , ‘‘अबको दुई साताभित्र सबै कर्मचारी समायोजन भइसक्नेछन्।’ सरकारले कर्मचारी समायोजनमा समस्या भएका विभिन्न सेवाका कर्मचारीसँग आवश्यक परामर्श गर्ने कामलाई समेत निरन्तरता दिँदैआएको छ ।

सरकारले पुस ११ गतेदेखि माघ २ गतेसम्म २१ दिनको सूचना सार्वजनिक गरी कर्मचारीलाई समायोजनका लागि निवेदन दिने समयावधि तोकेको थियो। त्यसको एक महिनाभित्र कर्मचारी समायोजन गरिसक्ने भनिए पनि केही प्राविधिक समस्याले कर्मचारी समायोजनमा ढिलो हुन गएको बताइएको छ। कर्मचारी समायोजनका क्रममा ७७ हजार ३७४ जना कर्मचारीले समायोजनका लागि आवेदन दिइएका थिए।

कुल ८१ हजार कर्मचारीमा करिब चार हजार कर्मचारीले समायोजनका लागि आवेदन दिएका थिएनन्। आवेदन नदिएका कर्मचारीलाई पनि सरकारले पत्र प्रदान गरी समायोजन गर्न लागेको छ। यो खबर आजको गोरखापत्र दैनिकमा छ ।