काठमाडौ– नेपाली सेनाले प्रतिस्पर्धाका आधारमा मनोजकुमार चौधरीलाई सेना प्रमुख सुवेदारको रूपमा छनोट गरेको छ। सेना प्रमुख सुवेदारकाे छनाेट पहिलाे पटक प्रतिस्पर्धाबाट भएकाे हाे।
सेनाका प्रवक्ता यामप्रसाद ढकालका अनुसार मुलुकभरका गण र गुल्मका सुवेदार–मेजरमध्येबाट प्रतिस्पर्धाका आधारमा २४ नम्बर बाहिनी अङ्डाका सुवेदार चाैधरी उक्त पदमा छनोट भएका हुन्।
याे पद सेनाभित्र निकै महत्वपूर्ण मानिन्छ । सेना प्रमुख सुवेदारलाई प्रधानसेनापतिको कार्यालयमा रही पदिक र तल्लो तहका सकल दर्जाका हक, हितका लागि सरसल्लाह गरेर सेनाप्रमुख समक्ष सिधै जानकारी गराउन सक्ने अधिकार रहन्छ।
पदिकदेखि तल्लो तहसम्मका सकल दर्जाको खटन-पटनदेखि आर्थिक व्यवस्थापनसमेत रहने सुवेदार–मेजरलाई सेनाभित्र निकै जिम्मेवारीको पद मानिन्छ ।
यसअघि प्रधानसेनापतिले आफूले कमाण्ड गरेको पल्टन वा आफूले चाहेको व्यक्तिलाई जङगी अड्डाको सुवेदार–मेजरमा ल्याउने चलन रही आएको थियो ।
आफूभन्दा माथिल्लो तहमा रहेपनि सहायक सेनानीदेखि गणपतिसम्मलाई आवश्यक सरसल्लाहसहित अनुशासन र सैनिक आचरणमा रहन प्रेरित गर्ने जिम्मेवारीसमेत रहने हुनाले तल्लो तहमा भर्ना भएका प्रत्येक सैनिकले कम्तिमा पनि सुवेदार–मेजर हुने आकाङ्क्षा राख्ने गरेका छन्।
नेपाली सेनामा तालीम, बढुवा, जिम्मेवारीलाई बस्तुनिष्ट र पारदर्शी तुल्याउने क्रममा पहिलो पटक सेना प्रमुख सुवेदारको छनोट भएको प्रवक्ता ढकालले जानकारी दिए।
प्रतिक्रिया