राजपाको विरोधका कारण सांसद बैठक स्थगित

राजपाको विरोधका कारण सांसद बैठक स्थगित


काठमाडौं – राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभाको बुधबारको बैठक अवरुद्ध गरेको छ । पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठन भएको न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै राजपाले बैठक अवरुद्ध गराएको हो ।

राजाप सांसदहरु उठेर विरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले १० मिनेटका बैठक स्थगित गरेको घोषणा गरे । बैठक सुरु हुनासाथ राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्न नदिने र बहिष्कार गरिरहने धारणा राखेका थिए ।

सरकारले पटक पटक प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाएपनि विभिन्न बहानामा पन्छाइरहेको आरोप उनले लगाएका छन् ।

प्रतिवेदन समार्वजनिक भयो भने कैलालीको टिकापुर घटनालगायत मधेश तथा थरुहटमा भएको आन्दोलनको सत्य तथ्य बाहिर आउने बताउँदै उनले प्रतिवेदन सार्वजनिक भए आन्दोलनकारीले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।