कांग्रेसमा छिर्‍यो राजतन्त्र र हिन्दूराष्ट्र :पार्टीमा ज्यान भर्ने सञ्जीवनी बन्न कति सम्भव ?

कांग्रेसमा छिर्‍यो राजतन्त्र र हिन्दूराष्ट्र :पार्टीमा ज्यान भर्ने सञ्जीवनी बन्न कति सम्भव ?


काठमाडौं – नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सक्रिय सहभागितामा देश गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा गएको हो । कांग्रेस नेता कार्यकर्ताले आदर्श मान्ने दुवै पूर्वसभापतिको छत्रछहारीमा हुर्किएका शशांक कोइराला र शेखर कोइरालाहरू अहिले तिनै उपलब्धीमाथि प्रश्न उठाइरहेका छन् ।

गिरिजा र सुशीलले काँधमा बोकेका संवैधानिक उपलब्धीलाई शशांक र शेखरहरूले खारेज गराउन सक्छन् ? राजनीति सम्भावनाको खेल हो । त्यसैले हरेक सम्भावनालाई सोझै नकार्न त सकिँदैन तर गणतन्त्रको ठाउँमा राजतन्त्र, धर्मनिरपेक्षताको ठाउँमा हिन्दूराष्ट्र, संघीयताको ठाउँमा केन्द्रीकृत शासन प्रणालीलाई बहाली गर्नु सहज पनि छैन ।

चर्चामा राजतन्त्र र हिन्दूराष्ट्र
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेस राजतन्त्र पुनस्र्थापनाबारे समेत जनमत संग्रह गर्न तयार रहेको अभिव्यक्ति दिए । होली पर्वका अवसरमा राजधानीको टोखास्थित निवासमा शुभकामना आदानप्रदान गर्दै कोइरालाले जनतालाई राजतन्त्र वा गणतन्त्र भन्ने रोज्न जनमत संग्रहमार्फत अधिकार दिइनुपर्ने बताए ।

गणतन्त्रसँगै संघीयता र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने समेत उनले बताए । ‘संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रबारे जनमत संग्रह गर्न सकिन्छ,’ उनले भने, ‘त्यसका लागि कांग्रेस तयार छ ।’ महामन्त्रीले पार्टी तयार रहेको भनेपनि कांग्रेस पार्टीले यसबारे आधिकारिक निर्णय भने गरिसकेको छैन । गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रश्न गर्दै शशांक कोइरालाले दिएको यो नौलो अभिव्यक्ति होइन ।

यसअघि समेत उनले हिन्दूराष्ट्रका पक्षमा सार्वजनिक वकालत नै गर्र्ने गरेका छन् । शेखर कोइराला लगायत नेता समेत हिन्दूराष्ट्र पुनस्र्थापना गर्नुपर्ने विचार व्यक्त गर्छन् । केही महिनाअघि सम्पन्न कांग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्र एजेन्डालाई प्रवेश गराउन खोजिएको थियो । तर सफल हुन सकेन । कांग्रेसले हिन्दूराष्ट्र एजेन्डालाई ग्रहण गरेन ।

शशांक र शेखरको अर्थपूर्ण अभियान
बीपी कोइरालाको लिगेसीसँग जोडिएका शशांक र शेखरलाई कांग्रेस पार्टीमा भावी नेतृत्वका रुपमा हेर्ने गरिएको छ । सभापति शेरबहादुर देउवालाई टक्कर दिन वरिष्ठ नेता रामचन्द्र पौडेल असफल भएपछि कोइराला परिवारका दुवै सदस्य आफैं सक्रिय भएका छन् । आगामी महाधिवेशनमा कोइराला परिवारबाटै सभापतिको उम्मेदवार बन्न सक्ने चर्चा समेत चलेको छ ।

सभापतिका सम्भावित उम्मेदवारमध्ये पर्छन्, शेखर र शशांक । त्यसैले दुवै नेताले दिइरहेका राजतन्त्र र हिन्दूराष्ट्र पक्षका अभिव्यक्ति अर्थपूर्ण छन् । गणतन्त्रमाथि प्रश्न उठाउँदै जनमत संग्रहको माग गर्नु भनेको कुनै न कुनै रुपमा राजतन्त्र र हिन्दूराष्ट्रको पक्षमा मत अभिव्यक्त गर्नु हो । संवैधानिक व्यवस्था परिवर्तनका लागि अभिव्यक्ति दिइरहेका दुवै कोइरालाले आफ्नै पार्टीमा भने यसबारे निर्णय गराउन सकेका छैनन् ।

दुवै कोइरालासँगै कांग्रेसमा अरु केही नेता पनि हिन्दूराष्ट्रका पक्षमा खुलेरै देखिने गरेका छन् । राजतन्त्रका पक्षमा भने कांग्रेसमा खासै खुलेर कोही आएका छैनन् । हिन्दूराष्ट्रका लागि कमल थापा र पशुपति शम्शेर जबराको पार्टीले गरिरहेका कार्यक्रम र थोरै भएपनि हिन्दूराष्ट्र पक्षको जनभावनाको असर कांग्रेसका दुवै कोइरालामा देखिएको छ । विकास र समृद्धिको नारालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थापित गरिसकेकाले अब कांग्रेसमा ज्यान भर्न हिन्दूराष्ट्र र राजतन्त्रको सहारा लिन खोजिएको हो कि ?

संवैधानिक प्रावधान संशोधनअघि दुवै कोइरालाले शुरूमा पार्टीभित्र निर्णय गराउन सक्नुपर्छ । कांग्रेसमा गगन थापा लगायत घघडान गणतन्त्रवादी नेता भएका कारण पार्टीभित्रै निर्णय गराउन दुवै कोइरालालाई सकस हुनेछ । तर दुवै कोइरालाले पार्टीभित्र हिन्दूराष्ट्र र राजतन्त्रका पक्षमा निर्णय गराउन कुनै प्रभावकारी पहल समेत गरिएको देखिएको छैन । सार्वजनिक खपत र धार्मिक पक्षधरसँग भावनात्मक निकटताका लागि मात्रै हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा अभिव्यक्ति दिने गरेको देखिएको छ ।

हिन्दूराष्ट्रले कांग्रेसमा ज्यान भर्न कति सम्भव ?
राजनीतिक परिवर्तनलाई संविधानमा संस्थागत गर्दै देश विकास र समृद्धिको अभियानमा अगाडि बढिरहेको छ । एक वर्षअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा हिन्दूराष्ट्र एजेन्डा बोकेको कमल थापा नेतृत्वको राप्रपा नराम्ररी पराजित भयो । हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा खासै जनमत देखिएन । देशले समृद्धि र विकासको नारालाई अनुमोदन गरेको थियो ।

समृद्धि र विकासको नारा दिएको दलले जनअपेक्षा पूरा गर्न नसकेको भन्दै सर्वसाधारणमा केही असन्तोष त देखिएको छ । तर त्यो असन्तोषले राजतन्त्र र हिन्दूराष्ट्र नै चाहेको हो भनेर भन्न सकिँदैन । जनताको चाहना गरीब न्यूनीकरण, बेरोजगारीको अन्त्य, निःशुल्क शिक्षा स्वास्थ्य लगायत नै हो । हिन्दूराष्ट्र र राजतन्त्रले सर्वसाधारणका यी चासोलाई सम्बोधन गर्न सक्दैन । तसर्थ हिन्दूराष्ट्र र राजतन्त्रको एजेन्डाले मात्रै शशांक र शेखर कोइरालालाई राजनीतिक लाभ मिल्ने देखिँदैन ।