अङ्गीकृत नागरिकताको विषयमा सहमति जुटाउन उपसमिति गठन

अङ्गीकृत नागरिकताको विषयमा सहमति जुटाउन उपसमिति गठन


काठमाडौं– प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले ‘अङ्गीकृत नेपाली नागरिकता प्राप्ति’ को विषयमा सबै दलको सहमति जुटाउन उपसमिति गठन गरेको छ ।

‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने विधेयकको मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल गर्न बिहीबार बसेको समितिको बैठकले नौ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो । उपसमितिमा सङ्घीय संसद्मा रहेका अधिकांश दलको प्रतिनिधित्व हुने गरी सांसद विजय सुब्बा, यशोदा सुवेदी, नवराज सिलवाल, देवेन्द्रराज कँडेल, रामसहायप्रसाद यादव, राजकिशोर यादव, लक्ष्मी चौधरी, प्रेम सुवाल र मीना पाण्डे रहेका छन्।

उपसमितिलाई दुई साताभित्र सबै दलका शीर्षनेतासँग छलफल गरी नागरिता प्राप्तिमा सहमति हुन नसकेका सबै विषयमा सहमति जुटाई प्रतिवेदन तयार गर्ने कार्यभार दिइएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन्।

बैठकमा सांसद यशोदा सुवेदी, नवराज सिलवाल, रामसहायप्रसाद यादव, प्रेम सुवाल, मीना पाण्डे, रेखा शर्मा, झपट रावल, अमरेशकुमार सिंह, दिलेन्द्रप्रसाद बडू, पम्फा भुसाल, वृजेशकुमार गुप्ता, राजेन्द्र श्रेष्ठ र महेश्वरजङ्ग गहतराजले प्रतिवेदनमा भएका नागरिकता प्राप्तिका विषयमा आफ्ना धारणा राखेका थिए।