पत्रकारको चुनावः गोविन्दविरुद्ध प्रेस सेन्टरबाटै उजीरको उम्मेदवारी, तीर्थलार्इ चाैतारीकाे समर्थन

पत्रकारको चुनावः गोविन्दविरुद्ध प्रेस सेन्टरबाटै उजीरको उम्मेदवारी, तीर्थलार्इ चाैतारीकाे समर्थन


काठमाडाैं– नेपाल पत्रकार महासंघको आसन्न २५ औं महाधिवेशनमा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका दुई जनाले उम्मेदवारी घोषणा गरेका छन्।

 

सेन्टरले यसअघि प्रेस युनियनको समर्थनमा निर्वतमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक एवं सेन्टरका वरिष्ठ उपाध्यक्ष गोविन्द आचार्यलाई अध्यक्षमा उठाउने निर्णय गरेको थियो। तर, सोमबार मात्र पत्रकार महासंघका वर्तमान महासचिव उजीर मगरले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। मगर यसअघि एमाले निकट प्रेस चौतारी र प्रेस सेन्टर गठबन्धनबाट महासचिव बनेका थिए।

 

तर, अहिले कांग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकार रहेका बेला पत्रकार महासंघमा पनि सोही अनुरुपको तालमेल गर्न युनियनले अध्यक्ष छोडेपनि सेन्टरमा भने अध्यक्षका दुई उम्मेदार देखिएका हुन्।

महासंघको २५ औं महाधिवेशन अगामी भदौं ४ र ५ गते काठमाडौंमा हुँदैछ।  यसअघिका दुई कार्यकालमा चौतारी, प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार संघ लगायत साना संगठनहरुबीच बाम गठबन्धन हुँदै आएको थियो।

 

चौतारीको तीर्थ कोइरालालाई समर्थन
पत्रकार महासंघको आसन्न निर्वाचनमा युनियन र सेन्टरबीच तालमेल हुने भएपछि प्रेस चौतारीले वामपन्थी पृष्ठभूमीका पत्रकार तीर्थ कोइरालाको स्वतन्त्र उम्मेदवारीलाई समर्थन गरेको छ।
चौतारीले पत्रकार कोइरालाको उम्मेदवारीलाई स्वीकार गरेको हो।

प्रेस चौतारीले अध्यक्ष बाहेकका अन्य पदका लागि उम्मेदवारबारे छलफल जारी रहेको बताएको छ।