गाउंपालिकाको कार्यालय जिल्ला सदरमुकाममा

गाउंपालिकाको कार्यालय जिल्ला सदरमुकाममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ– बझाङमा गाउपालिकाका कार्यालयहरु जिल्ला सदरमुकाममा राखिएको खुलासा भएको छ । बझाङको सुर्मा गाउंपालिकाका प्रमुख उपप्रमुख सहित प्राय सबै वडा अध्यक्षहरु सदरमुकाम स्थित चैनपुरमा बस्ने गरेको खुलासा भएको छ ।  जनप्रतिनिधीहरुनै सदरमुकाममा कार्यालय खडा गरेर बसेपछि  प्रमुख प्रशाशकिय अधिकृतदेखी वडा सचिवहरु पनि सदरमुकामकै कार्यालयमा बस्ने गरेका छन् ।

स्थानिय तहका दैनिक सेवा दिनुपर्ने कर्मचारीहरु पनि सदरमुकाम कै कार्यालयमा हुन्छन । कार्यालय सेवागा्रही भन्दा पनि कृषि, पशुसेवा, शिक्षा हेर्ने कर्मचारीहरुले भरिएको हुन्छ ।

 

‘३ वटा कोठा भाडामा लिएका छौं’ सुर्मा गांउपालिका वडा नं ३ का सचिव विरवल बोहराले भने ‘धेरै जसो कामकाज त गाउंपालिकामै हुन्छ यो सम्पर्क कार्यालय हो । कहिले कांही जिल्ला आएको बेला यतैबाट काम गर्छाै ’ उनले गाउपालिकामा कार्यालय व्यवस्थापन नभएका कारण सदरमुकाममै बसेर सेवा दिइरहेको बताए पनि के कुराको व्यवस्थापन भएको छैन भन्ने खुलाउन सकेनन् ।

 

बुधबार दिउंसो तिर सदरमुकाम स्थित कार्यालयमा छिरेका प्रमुख प्रशाशकिय अधिकृत शिवराज जोशीले गाउंपालिकामा बैङ्क नभएको, इमेल नभएको, हुलाक भए पनि टिकट नपाइने गरेकोले सदरमुकाममा कार्यालय खोल्नु परेको बताए । उनले भने ‘गांउपालिकामा बन्दै गरेर त आएका छैनौं । त्यहां कार्यालय खोल्न र झण्डा गाडनका लागी एक जना कार्यलय सहयोगी राखेका छौ । त्यहां धेरै कुराको व्यवस्थापन नभएका कारण यता सम्पर्क कार्यालय खोलेका हौ । ’

सुर्मा गांउपालिकामा पशुसेवा कार्यालयको छुट्टै भवन छ । तर पशु प्राविधिकहरु भने चैनपुरस्थित गांउपालिकाको कार्यालयमा छन । छुट्टै भवन भएको कार्यालयका कर्मचारी पनि किन सदरमुकाममा त ? एकजना पशु प्राविधिक धिरेन्द्र थापाले हलुका पाराको उत्तर दिए । ‘हाम्रो कार्यालय पनि कहां व्यवस्थित छर सर । शौचालय नै छैन’ ।

 

सुर्मा गांउपालिकामा देखिए जस्तै दृष्य कांडा र मष्टा गांउपालिकाको सदरमुकाम स्थित कार्यालयमा पनि देखियो । धेरै जसो काम सदरमुकाममै पर्ने भएकोले आफुहरुले चैनपुरमा सम्पर्क कार्यालय खोलेर बसेको त्यहांका जनप्रतिनिधी र कर्मचारीहरुले जवाफ दिए ।

तर सेवाग्राहीहरुले भने लामो समयको रिक्तता पछि आएको जनप्रतिनिधी मुलक सरकारको अनुभव आफुले गर्न नसकेको प्रतिक्रिया दिएका छन । कांडाका उमेश बोहरा भन्छन ‘सिंहदरबार गांउमै आउछ भन्थे । हामीले सामान्य सिफारिस लिनका लागी ५ दिन हिडेर चैनपुर आउनु पर्ने बाध्यता हटेन । स्थानिय सरकार छ भन्ने कुराको हामीलाई महसुस नै छैन’ उनले कांडा देखी ४\५ दिन हिडेर आएका सेवाग्राहीलाई सदरमुकाम स्थित गांउपालिकाको कार्यालय खोज्न हम्मे हुने गरेको बताए ।

 

‘ फोन गर्दा कहिले काठमाण्डौ कहिले धनगढी छौ भनेर जवाफ दिन्छन’ कांडाकै बसन्त बोहराले भने ‘कहिले–कहिले उनिहरु (जनप्रतिनिधी र कर्मचारी) को फोनै अफ हुन्छ । हप्तौं हिडेर सदरमुकाम आउंदा पनि काम हुदैन । हाम्रा लागी सिंहदरवार अझै पनि सदरमुकाममा छ । हाम्रा दुख ज्युंका त्यू छन’

जनप्रतिनिधीहरु र कर्मचारीहरु जिल्ला सदरमुकाममा केन्द्रित भए पछि गांउमा संचालन भैरहेका योजनाको अनुगमन, कृषि, शिक्षा, पशु सेवा लगायतका क्षेत्रमा दिइनु पर्ने दैनिक सेवाहरु प्रभावित भएको स्थानियहरुले बताएका छन ।

 

गांउपालिकाका कार्यालयलहरु सदरमुकाममा हुंदा सेवाग्राहीलाई निकै नै समस्या परिरहेको र यस विषयमा जिल्ला समन्वय समितिको बैठकमा छलफल गरिने जिसस सदस्य गजेन्द्र सार्कीले बताए । गाउंपालिकालाई जिससले निर्देशन गर्ने नगर्ने विषयमा केही पनि स्पष्ट नभएको कारण यस विषयमा के गर्ने भन्ने विषयमा यसै भन्न नसकिने जिल्ला समन्वय अधिकारी लालबहादुर थापाले बताए ।

फोटो क्याप्सन : सुर्मा गांउपालिकाको चैनपुर स्थित कार्यालयमा कर्मचारी र सेवाग्राहीहरु ।