पार्टी र सरकारलाई कमजोर बनाउन विष्णु पौडेलमाथि लाञ्छना लगाउने काम भयो : प्रधानमन्त्री ओली

पार्टी र सरकारलाई कमजोर बनाउन विष्णु पौडेलमाथि लाञ्छना लगाउने काम भयो : प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले देशैभरी अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन् । मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलले सरकारी जग्गा अतिक्रमण नगरेको राजाको शासनको बेलामा किनिएको जग्गाको विषयमा अहिले लाञ्छना लगाउनु उचित नहुने बताए।

’उनले आफ्नो पदको दूरुपयोग गरेर बालुवाटारको जग्गा किन्नुभएको होइन’,संसदीय दलको बैठकमा ओलीले भने। ’हडपिएको सरकारी जग्गा सरकारले फिर्ता ल्याउँछ’, प्रधानमन्त्रीले दाबी गरे।बालुवाटारस्थित ललिता निवाससँग जोडिएको आठ आना सरकारी जग्गा नेकपा महासचिव पौडेलका छोरा नवीनको नाममा पुगेपछि उनी आलोचित हुँदै आएका छन्।यद्यपि, उनले दुई पटक विज्ञप्ति निकालेर आफ्नो बचाउ गरिसकेका छन्।

महासचिवमाथिको लाञ्छना पार्टी र सरकारलाइ कमजोर बनाउन खोजिएको पनि प्रधानमन्त्रीले दाबी गरे।‘पार्टी र सरकारलाई कमजोर बनाउन महासचिवमाथि आक्रमण गरिएको हो,’ प्रधानमन्त्री ओलीले भने, सरकारी जग्गा व्यक्तिको नाममा ल्याउनेहरुको खोजि भइरहेको भन्दै प्रधानमन्त्री ओलीले क-कसले सरकारी जग्गा हडपेका छन् सरकारले अध्ययन गरिराखेको बताए। ‘जहाँसुकै हडपिएको जग्गा सरकारले फिर्ता ल्याउँछ,’ उनले भने, ‘कसलाई नाफा हुन्छ या कसलाई नोक्सान हुन्छ केही हेरिँदैन। सरकारले सत्यत्थ्य बाहिर ल्याउँछ।’