कांग्रेसले भन्यो—बालुवाटार जग्गा प्रकरणका दोषीमाथि कारवाही गर

कांग्रेसले भन्यो—बालुवाटार जग्गा प्रकरणका दोषीमाथि कारवाही गर


काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा गम्भीर छानबीनका साथ मोलाहिजाबेगर दोषीमाथि कारवाहीको माग दोहो-याएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सो प्रकरणको गहिरो छानबीन गरी दोषीलाई दण्डित गरिनुपनेमा जोड दिएका छन्।

‘बालुवाटारको जग्गा को व्यक्तिका नाममा, कसरी पुग्यो, त्यसमा को संलग्न थिए र छन् भन्ने विवरण यसबीचमा तथ्य प्रमाणका साथ सार्वजनिक भइसकेको छ । दोषीलाई जोगाउने ढङ्गले, विषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढङ्गले गरिने कर्म र प्रचारप्रति सजगताका लागि काङ्ग्रेस सबैमा अपिल गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता शर्माले तथ्यको जगमा सत्यको खोजी र दोषीमाथि कारवाहीका लागि नागरिकको सजगता, सञ्चारमाध्यमको निष्पक्ष प्रखरता, अनुसन्धानकर्मीको इमानदारीसँगै प्रतिपक्षको दवाव र सरकारको इमान्दार विवेक यतिबेला परीक्षाको कसीमा रहेको उल्लेख गरेका छन्।

कांग्रेसले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ
१.बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको गम्भीर विषयप्रति नेपाली कांग्रेसले सार्वजनिक रुपमा आपक्ति व्यक्त गर्दै आएको तथ्य सर्व्विदितै छ । वैशाख २५ मा शुरु हुने ‘राष्ट्रिय जागरण अभियान’ मा यस्ता सबै खाले विसंगतिका विरुद्ध राष्ट्रव्यापी रुपमा आवाज घनिभूत तुल्याइँदैछ ।

२. वैशाख १६ गते प्रतिनिधिसभाको बैठकमा स्वयं सभापति शेरबहादुर देउवाले बालुवाटार प्रकरणबारे पार्टीका तर्फबाट कडा अभिमत व्यक्त गरिसक्नु भएको छ । नेपाली कांग्रेस सो प्रकरणको गहिरो छानबिन गरेर दोषीलाई दण्डित गरिनुपर्ने विषयमा एकमतका साथ प्रष्ट रहेको धारणा दोहोर्‍याउन चाहन्छ ।

३. बालुवाटारको जग्गा को व्यक्तिका नाममा, कसरी पुग्यो, त्यसमा को संलग्न थिए र छन् भन्ने विवरण यसविचमा तथ्य प्रमाणका साथ सार्वजनिक भैसकेको छ । दोषीलाई जोगाउने ढंगले, बिषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारहरुप्रति सजगताका लागि नेपाली कांग्रेस सबैमा अपिल गर्दछ ।

४. तथ्यको जगमा सत्यको खोजी र दोषीमाथि कार्वाहीका लागि आम नागरिकको सजगता, संचार माध्यमहरुको निष्पक्ष प्रखरता, अनुसन्धानकर्मिहरुको इमानदारीतासंगै प्रतिपक्षको दबाब र सरकारको ईमान्दार विवेक यतिबेला परिक्षाको कसिमा छ । नेपाली कांग्रेस बालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानबिनका साथ कुनैपनि मोलाहिजा वेगर दोषीमाथि कार्वाहीको माग पुन दोहोर्‍याउन चाहन्छ ।

जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता