मुलुकमा उद्योगीले ढुक्क भएर लगानी गर्न र मजदुरले सम्मानका साथ काम गर्ने वातावरण बनेको छ :प्रधानमन्त्री

मुलुकमा उद्योगीले ढुक्क भएर लगानी गर्न र मजदुरले सम्मानका साथ काम गर्ने वातावरण बनेको छ :प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री केपी हर्मा ओलीले सबै राजनीतिक दल,पेसागत संगठन,मजदुर र र विभिन्न क्षेत्र एकजुट हुनसकेमात्र मुलुकको विकास र समृद्धि सम्भव हुने बताएका छन् । बुधबार ज्वाइन्ट ट्रेड युनियन कोअर्डिनेशन सेन्टर (जेटियुसिसी) ले मजदुर दिवसका अवसरमा काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकार, रोजगारदाता र श्रमिकबीच त्रिपक्षीय सहमतिबाट बनेको श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न कुनैपनि पक्षले आनाकानी गरे कानुन प्रयोग गरेर भएपनि कार्यान्वयन गर्न सरकार बाध्य हुने बताए । प्रधानमन्त्री ओलीले मजदुरमाथि अन्याय गरेर समस्याको समाधान खोज्न नहुने भन्दै मुलुकमा उद्योगीले ढुक्क भएर लगानी गर्न र मजदुरले सम्मानका साथ काम गर्ने वातावरण बनेको जिकिर समेत गरे ।

कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै त्रिपक्षीय सहमतिविरुद्ध जान कसैलाई पनि छुट नभएको स्पस्ट पारे । कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, राजपा नेपालका नेता राजेन्द्र महतो, उपप्रधानमन्त्री एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतले सम्बोधन गरेका थिए । मजदुर नेताहरुले सरकारले तोकेको न्यूनतम् पारिश्रमिक कार्यान्वयन गर्न तत्काल ट्रेड युनियन ऐन परिमार्जन गर्नुपर्नेलगायतका माग गरेका थिए ।