प्याकेजमा सहमती भए मात्र सरकारमा जान्छौं : प्रचण्ड

प्याकेजमा सहमती भए मात्र सरकारमा जान्छौं : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी प्याकेजमा समझदारी बनाएर सरकारमा सहभागी हुने बताउनु भएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हिजो शुरु भएको सरकार गठन प्रक्रियामा नेकपा (माओवादी केन्द्र) सरकारमा नगएको विषयमा प्रश्न उठेको टिप्पणी गर्नुहुँदै सरकार र पार्टी एकताको विषयमा प्याकेजमा सहमति गर्नेगरी छलफल शुरु भएको बताउनु भयो ।

“सरकार गठनको प्रक्रियामा सहभागी नभएको प्रश्न पनि उठेको छ ।” अध्यक्षले भन्नुभयो, “तर हामी पार्टी एकता, राष्ट्रपति, सभामुख, मन्त्रालयदेखि बिभिन्न ठूला राजनीतिक नियुक्तिसम्म प्याकेजमै समझदारी गरेर सरकारमा सहभागी हुन्छौं । अहिले सकारात्मक छलफल शुरु भएको छ ।”

पार्टी एकता प्रक्रिया सकारात्मक ढंगले अघि बढेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले अधिकांश विषयमा सहमति भएको र केही विषयमा छलफल गर्न बाँकी रहेको बताउनु भयो ।

वाम गठबन्धनले ७० वर्षपछि राजनीतिक स्थायित्व, समृद्धि, सुधार र समाजवादको यात्रा तय गरेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । “बिभिन्न समयमा भाषणमा शिक्षा क्षेत्रको कुरा निकै उठ्यो ।” अध्यक्षले भन्नुभयो, “तर अहिलेसम्म यो क्षेत्र उपेक्षित नै छ । २० प्रतिशत बजेट अझै पुर्याउन सकिएको छैन ।”

‘हिजोका कमजोर सरकारले गर्न नसकेका काम हामी गर्न चाहन्छौं,’ उहाँले भन्नुभयो, ‘सम्मेलनबाट शिक्षा क्षेत्रमा गर्नुपर्ने कामको निचोड र सुझाव सुत्रवद्ध रुपमा प्रस्तुत गर्नुहोला । सुझावलाई पार्टी र सरकारका तर्फबाट गुणात्मक रुपमा सम्बोधन गर्छाै ।’ वाम गठबन्धनको झण्डै दुईतिहाई बहुमत आएको बताउनुहुँदै प्रचण्डले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट बढाउने काम वाम गठबन्धनको सरकारले गर्ने बताउनुभयो ।

‘जनताको चाहना अनुसारको शिक्षा दिन अनुसन्धानका कार्यक्रम गर्न बजेट छुट्याउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘बेरोजगार उत्पादन गर्ने सैद्धान्तिक शिक्षालाई परिमार्जन गरेर शिक्षालाई जीवनोपयोगी, उत्पादनमूलक र रोजगारीमूलक बनाउनुपर्छ ।’ व्यवसायिक हित र समुदायको समृद्धिका शिक्षा आवश्यक पर्ने बताउनुहुँदै प्रचण्डले स्थायित्व र समृद्धिको यात्रा शिक्षा क्षेत्रबाटै सुरु गरिने बताउनुभयो । ‘शिक्षकका समस्या समाधान र शिक्षामा रहेको बेलगाम नीजिकरणको अवस्थालाई नियन्त्रण गर्ने नीति सरकारले ल्याउने छ,’ उहाँले भन्नुभयो ।